काठमाण्डु- सरकारले सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको छ । गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।
त्यसैगरी, वैठकले वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा पठाइएको छ ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्तमा रहेका सचिव किरणराज शर्मा र कृष्णहरी पुस्करलाई क्रमस प्रदेश नं. ३ र ५ को प्रदेश प्रमुख सचिवमा सरुवा गरिएको छ ।
आजको वैठकमा उर्जामन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) मा कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव समेत अस्वीकृत भएको छ । मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गर्ने प्रस्ताव राखेपनि त्यो अस्विकृत भएको हो ।
उनले केही दिन अगाडि ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव देवेन्द्र कार्कीलाई शाक्यलाई बरखास्त गरी घिसिङलाई नियुक्ति गर्ने प्रक्रियाको फाइल उठाउन निर्देशन दिएकी थिइन् । तर उनले त्यो निर्णय गैरकानुनी हुने भन्दै त्यसो नगर्न मन्त्री भुसाललाई सुझाव दिएका थिए ।
मन्त्रीले निरन्तर दबाव दिएपछि फाइल उठाएर मुख्य सचिव मुख्यसचिव शंकरदास बैरागीसमक्ष पेश गरिएपनि उनले उक्त प्रस्ताव फिर्ता गरेको स्रोतको दावी छ । मन्त्री भुसालले सोमबार आफैंले ठाडो प्रस्ताव लिए पनि उनको योजना असफल भएको हो ।
मन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा बोलाएर यसअघि नै कार्यकारी निर्देशकबाट राजीनामा दिन आग्रह गरेकी थिइन। तर,शाक्यले राजीनामा नगर्ने तर सरकारले दिने जिम्मेवारीमा काम गर्न तयार रहेको बताएका थिए । आइतबार शाक्यले विभिन्न संचारमाध्यमा पुगेर अन्र्तवार्ता दिएपछि मन्त्री भुसाल उनिसंग रुष्ट बनेकी थिईन ।
प्रधानमन्त्री देउवा भने तत्काल शाक्यलाई हटाउने पक्षमा थिएनन । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मन्त्री भुसाल भने उनलाई जसरी पनि हटाउने योजनामा थिए ।




प्रतिक्रिया