कांग्रेसमा भागबन्डा मिलाउन पदाधिकारी संख्या बढाइँदै, सह-महामन्त्री ११ जना

कांग्रेसमा भागबन्डा मिलाउन पदाधिकारी संख्या बढाइँदै, सह-महामन्त्री ११ जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा संगठनात्मक संरचना, प्रतिनिधित्व, निर्वाचन प्रक्रिया, बन्दसत्र सञ्चालन र प्रचारशैलीका हिसाबले फरक हुने भएको छ।

२०८२ पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनबाट संशोधित विधान कार्यान्वयन गर्दै कांग्रेसले पार्टीको मूल संरचनामा युवा, महिला, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, विदेशस्थित कांग्रेसजन तथा विभिन्न क्षेत्रका विज्ञलाई समेट्ने व्यवस्था गरेको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्वका आकांक्षीको संख्या बढेपछि कांग्रेसले पदाधिकारीको संख्या थप गर्ने तयारीसमेत गरेको छ। उपसभापतिको संख्या बढाउने विषयमा छलफल भइरहेको छ भने सह-महामन्त्रीको संख्या ११ कायम गरिएको छ।

कांग्रेसको विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सह-महामन्त्री ११ (८ निर्वाचित, ३ मनोनित) तथा १ कोषाध्यक्ष (सभापतिबाट मनोनित) गरी १७ सदस्यी पदाधिकारी रहने व्यवस्था छ ।

अब उपसभापति पद बढाएर ४ बनाउने तयारी गरिएको छ। उता सह-महामन्त्रीको संख्या कम्तिमा ११ बनाउने सहमति जुटेको छ ।

वर्तमान उपसभापति विश्वप्रकाश शर्मालाई वरिष्ठ उपाध्यक्ष बनाउने सम्भावना पनि छ । केन्द्रीय सदस्यको संख्या पनि बढाउने तयारी छ । नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बन्नेछ। त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने छन्।

पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको संरचनामा थप समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषय पनि छलफलमा छ।

कांग्रेसको संशोधित विधानअनुसार अहिले सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री ११ जना रहने व्यवस्था छ। सह-महामन्त्रीमध्ये आठ जना समावेशी समूहबाट निर्वाचित हुने तथा तीन जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।

नेतृत्व तहमा आकांक्षीको व्यवस्थापन र विभिन्न समूहलाई पार्टीको माथिल्लो संरचनामा समेट्ने उद्देश्यले उपसभापतिसहित पदाधिकारीको संख्या बढाउने विषयमा पार्टीभित्र छलफल भइरहेको छ।

विधान संशोधन मस्यौदा समितिले प्राप्त सुझावलाई समेटेर प्रस्ताव तयार गर्ने र त्यसलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई महाधिवेशनमा प्रस्तुत गर्ने प्रक्रिया अघि बढेको छ।

यसपटक कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार पनि ठूलो बनाइएको छ। संशोधित विधानअनुसार १७१ जना निर्वाचित हुने र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।

विभिन्न स्रोतमा पदेन सदस्यको गणनासहित केन्द्रीय संरचनाको कुल संख्या फरक ढंगले उल्लेख भए पनि महाधिवेशनबाट निर्वाचित र सभापतिबाट मनोनीत हुने संरचना यही आधारमा तय गरिएको छ।

युवा र महिलालाई प्राथमिकता

कांग्रेसले यसपटक ३५ वर्षमुनिका युवाको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व सुनिश्चित गरेको छ। केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। प्रदेश र खुला समूहबाट पनि युवाले नेतृत्वमा पुग्न सक्ने व्यवस्था छ।

त्यस्तै, पार्टीका विभिन्न तहका कार्यसमितिमा महिलाको प्रतिनिधित्व कम्तीमा एकतिहाइ सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। सभापतिले मनोनयन गर्ने केन्द्रीय सदस्यमा समेत एकतिहाइ महिला हुनुपर्ने प्रावधान राखिएको छ।

विज्ञलाई ‘ल्याटरल इन्ट्री’

यसपटक कांग्रेसले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पार्टीको मूल संरचनामा ल्याउने व्यवस्था पनि गरेको छ।

डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत प्रबुद्ध तथा पेसागत क्षेत्रका व्यक्तिलाई ‘ल्याटरल इन्ट्री’मार्फत पार्टीको नीति निर्माण र नेतृत्व संरचनामा सहभागी गराउने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

त्यसैगरी अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्वलाई पनि प्राथमिकता दिइएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत केन्द्रीय संरचनामा प्रतिनिधित्वको व्यवस्था गरिएको छ।

बन्दसत्र र प्रचारशैलीमा पनि परिवर्तन

१५औँ महाधिवेशनमा बन्दसत्र सञ्चालनको शैलीमा समेत परिवर्तन गरिएको छ। प्रदेशगत समूहमा छलफल गर्ने तथा हिमाल, पहाड र तराई–मधेशका आधारमा विभिन्न विषयमा बहस गर्ने व्यवस्था गरिएको छ।

राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल रूपमा उपलब्ध गराउने र छलफलको अभिलेखीकरणलाई प्राथमिकता दिइएको छ।

महाधिवेशनमा खर्चिलो र भड्किलो प्रचारशैलीलाई निरुत्साहित गर्ने नीति कांग्रेसले लिएको छ। औपचारिक प्यानल नबनाई प्रतिनिधिलाई उम्मेदवार छनोटमा स्वविवेक प्रयोग गर्ने वातावरण बनाउने विषय पनि यसपटक चर्चामा छ।

यसरी कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नरही संगठनात्मक संरचना विस्तार, प्रतिनिधित्वको दायरा फराकिलो बनाउने, युवालाई नेतृत्वमा ल्याउने तथा पार्टीभित्रको बहस र निर्वाचन प्रक्रियालाई नयाँ ढंगले अघि बढाउने प्रयासका रूपमा अघि बढेको छ।