कांग्रेस महाधिवेशनमा हुँदैछन् यी १८ अभ्यास : युवाको प्रतिनिधित्व सुनिश्चितदेखि ‘ल्याटरल इन्ट्री’सम्म

कांग्रेस महाधिवेशनमा हुँदैछन् यी १८ अभ्यास : युवाको प्रतिनिधित्व सुनिश्चितदेखि ‘ल्याटरल इन्ट्री’सम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा संगठनात्मक संरचना, प्रतिनिधित्व, निर्वाचन प्रक्रिया, बन्दसत्र सञ्चालन र प्रचारशैलीका हिसाबले फरक हुने भएको छ।

गत पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक युवा, महिला, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, विदेशस्थित कांग्रेसजन तथा विभिन्न क्षेत्रका विज्ञलाई पार्टीको मूल संरचनामा समेट्ने व्यवस्था गरेको छ।

त्यसैगरी महाधिवेशनमा डिजिटल दस्तावेज, छलफलको अभिलेखीकरण, प्रदेशगत समूहमा बन्दसत्र तथा डिजिटल प्रचारलाई प्राथमिकता दिइएको छ। खर्चिलो र भड्किलो प्रचारशैलीलाई समेत निरुत्साहित गर्ने नीति कांग्रेसले लिएको छ।

कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नरही पार्टीको संगठनात्मक संरचना, प्रतिनिधित्व, बहसको शैली र प्रचार प्रणालीमा समेत परिवर्तन गर्ने प्रयासका रूपमा अघि बढेको छ।

युवा र महिलाको सहभागिता बढाउनेदेखि श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितलाई समेट्ने, विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई ‘ल्याटरल इन्ट्री’मार्फत नेतृत्वमा ल्याउने र विदेशस्थित कांग्रेसजनलाई केन्द्रीय संरचनामा प्रतिनिधित्व गराउनेसम्म यसपटकका नयाँ अभ्यास हुन्।

कांग्रेस महाधिवेशनमा देखिने १८ नयाँ अभ्यास :

१. ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व
यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ। वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरिएको छ।

२. केन्द्रमा २१ युवा सदस्य
केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन्। प्रदेशगत र खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्था गरिएको छ।

३. महिलालाई कम्तीमा एकतिहाइ प्रतिनिधित्व
कांग्रेसका विभिन्न तहका कार्यसमितिमा महिलाको प्रतिनिधित्व कम्तीमा एकतिहाइ सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। यसले वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउने लक्ष्य राखेको छ।

४. सह-महामन्त्रीको संख्या बढ्यो
यसपटक कांग्रेसमा सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्‍याइएको छ। समावेशी समूहबाट निर्वाचित हुने तथा सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।

५. ‘ल्याटरल इन्ट्री’बाट विज्ञको नेतृत्वमा प्रवेश
राजनीतिमा लामो समयदेखि सक्रिय कार्यकर्तामात्र नभई विभिन्न पेसा, व्यवसाय तथा क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि पार्टीको मूल नेतृत्वमा ल्याउने बाटो खोलिएको छ। यही व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

६. विदेशस्थित कांग्रेसजनलाई केन्द्रमा प्रतिनिधित्व
नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। यसले विदेशमा रहेका कांग्रेससम्बद्ध नेपालीलाई केन्द्रीय संरचनामा औपचारिक स्थान दिनेछ।

७. समावेशी प्रतिनिधित्व थप फराकिलो
अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई केन्द्रीय समितिमा सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्वलाई समेत सुनिश्चित गरिएको छ।

८. २३२ सदस्यीय केन्द्रीय कार्यसमिति
नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बन्नेछ। त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ।

९. प्यानल नबनाउने
यसपटक नेतृत्व चयनमा विगतमा जस्तो औपचारिक प्यानल बनाएर निर्वाचनमा जाने अभ्यास नगर्ने बताइएको छ। प्रतिनिधिले उम्मेदवार छनोटमा आफ्नो स्वविवेक प्रयोग गर्ने भनिएको छ।

१०. प्रदेशगत समूहमा बन्दसत्र
करिब सात हजार प्रतिनिधिलाई एउटै हलमा राखेर छलफल गराउनुको सट्टा छुट्टाछुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि छलफल गराउने तयारी गरिएको छ।

११. तीन संरचनामा बन्दसत्र
खुलामञ्चमा हुने महाधिवेशनका बन्दसत्रका लागि तीनवटा ठूला संरचना तयार गरिएको छ। छलफलका लागि तयार गरिएका हलको नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ राखिएको छ।

१२. प्रतिवेदन डिजिटल रूपमा उपलब्ध
महाधिवेशनका राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल माध्यमबाट पनि प्रतिनिधिलाई उपलब्ध गराउने तयारी गरिएको छ। यसले कागजी दस्तावेजमा निर्भरता घटाउनेछ।

१३. प्रतिनिधिको बहस र सुझाव अभिलेख गरिने
महाधिवेशनमा प्रतिनिधिले राखेका धारणा, सुझाव तथा बहसलाई अभिलेखका रूपमा सुरक्षित गर्ने तयारी छ। प्राप्त सुझाव समेटेर अन्तिम दस्तावेज तयार गर्ने भनिएको छ।

१४. डिजिटल मतदान प्रयास
कांग्रेसले विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरेको थियो। तर प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतदान प्रणालीमै जाने भएको छ।

१५. प्रचारशैलीमा परिवर्तन
काठमाडौंका विभिन्न स्थानमा ठूला गेट, होर्डिङ बोर्ड, तोरण तथा अत्यधिक झण्डा राखेर प्रचार गर्ने शैलीलाई यसपटक निरुत्साहित गरिएको छ।

उम्मेदवारलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ। उम्मेदवारले पर्चा छापेर मतदानस्थलमा वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ।

१६. उद्घाटन र बन्दसत्र एउटै स्थानमा
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसँगै बन्दसत्रसमेत काठमाडौंको खुलामञ्चमै गर्ने तयारी गरिएको छ। ठूलो संख्यामा प्रतिनिधि व्यवस्थापन गर्न त्यहीअनुसार संरचना निर्माण गरिएको छ।

१७. विपद्का कारण भड्किलो शैलीमा रोक
देशले पछिल्लो समय ठूलो प्राकृतिक विपद् बेहोरेको सन्दर्भमा महाधिवेशनलाई अत्यधिक खर्चिलो र भड्किलो नबनाउने नीति कांग्रेसले लिएको छ। सहरभरि प्रचार सामग्री र सजावट गर्ने परम्परालाई यसपटक सीमित गरिएको छ।

१८. ‘कांग्रेस २.०’को बहस
यसपटकको महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे बहसलाई प्राथमिकता दिइएको छ।

‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत पार्टीलाई नयाँ शैलीमा अघि बढाउने सन्देश दिइएको छ।