आजबाट प्रधानसेनापति थापा बिदामा, शर्मा कायममुकायम प्रधानसेनापति

आजबाट प्रधानसेनापति थापा बिदामा, शर्मा कायममुकायम प्रधानसेनापति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी रथी प्रभुराम शर्माले पाएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा तीनवर्षे कार्यकाल पूरा गरेर आजदेखि अनिवार्य अवकाशका लागि एक महिना बिदामा बसेपछि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी रथी शर्माले पाएका हुन् । नेपाली सेनामा अवकाश पाउनुअघि एक महिना बिदामा बस्ने चलन छ ।

प्रधानसेनापति थापाको ३ वर्षे कार्यकाल भदौ २४ गतेबाट सकिँदैछ । भदौ २४ बाट थापाले अनिवार्य अवकाश पाउने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा रथी शर्मालाई यसअघि नै नियुक्त गरेकी थिइन् । सेनामा क्षमता र दक्षताको आधारमा ‘चेन अफ कमान्ड’अनुसार प्रधानसेनापति नियुक्त गर्ने परम्परा छ ।

वि.सं. २०२० पुस २१ गते काठमाण्डुमा जन्मिएका शर्मा ०३७ सालदेखि नेपाली सेनामा कार्यरत छन् । भावी प्रधानसेनापति शर्माले स्वदेशका सबै व्यावसायिक तालिमहरु सफलतापूर्वक सम्पन्न गरेका छन् ।

उनले भारतबाट राष्ट्रिय प्रतिरक्षा, अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरक्षा र बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम तथा सेमिनारहरु पनि पूरा गरेका छन् । शर्माले सेनाको अपरेसनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशकको भूमिका निर्वाह गरिसकेका छन् ।