कांग्रेसको देखासिकी गर्दै एमाले गण्डकी प्रदेश,सरकारमाथिको निगरानी बढायो

कांग्रेसको देखासिकी गर्दै एमाले गण्डकी प्रदेश,सरकारमाथिको निगरानी बढायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ । प्रदेशमा रहेको ११ मन्त्रालय हेर्नेगरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेश एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए । सरकारका गतिविधिहरूलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका लागि संसदीय समूह बनाएको उनले बताएका हुन् ।

भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्वमन्त्री रामशरण बस्नेतलाई संयोजक बनाइएको छ । सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला रहेका छन् । त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निगरानीका लागि पूर्वमन्त्री विकास लम्साललाई संयोजक बनाइएको छ । सदस्यमा रामबहादुर गुरूङ र लक्ष्मी सुनार रहेका छन् । संयोजक लम्साल यस अघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।

यसअघि सामाजिक विकासमन्त्री समेत बनेकी नरदेवी पुन मगरले सामाजिक विकास मन्त्रालयको निगरानी गर्नुपर्ने छ । सदस्यमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट रहेका छन् । त्यसैगरी पछिल्लो सरकार गठन भएपछि बनेका नयाँ कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजक चन्द्र मोहन गौचन बनेका छन् । सदस्यमा पुष्पा केसी भण्डारी चयन भएकी छन् । त्यस्तै अर्थ मन्त्रालयको संयोजक इन्द्रलाल सापकोटा बनेका छन् ।

सदस्यमा कृष्ण बहादुर थापा रहेका छन् । भूमि, व्यवस्था,कृषि मन्त्रालयको संयोजकमा मित्रकुमारी गुरूङ छन् । सदस्यमा मनबहादुर गुरूङ र महेन्द्र थकाली छन् । ऊर्जा, खानेपानी मन्त्रालयको संयोजकमा मीनप्रसाद गुरूङ चयन भएका छन् । सदस्यमा धनञ्जय दवाडी चयन भएका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकमा मोहन प्रसाद रेग्मी चयन भएका छन् । सदस्यमा मायानाथ अधिकारी र मीना गुरूङ चयन भएका छन् ।

पछिल्लो मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजकत्वमा राजीव पहारी चयन भएका छन् । सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर चयन भएका छन् । यसअघि केपी शर्मा ओलीको पालामा नेपाली कांग्रेसले केन्द्रमा छाया सरकार बनाएको थियो । तर प्रदेशमा भने गण्डकीमा एमालेले छाँया सरकारको पहिलो अभ्यास थालेको छ ।