काठमाण्डु – लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्ने गरी नवौं अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । केसी गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
स्रोतका अनुसार उक्त अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिएर मन्त्रिमण्डल बिस्तार र गठबन्धन सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी सरकारले गरेको छ ।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संसोधन गरेर ल्याउने र कार्यक्रमहरु पनि संसोधन गर्ने मुख्यमन्त्री केसीको तयारी छ ।




प्रतिक्रिया