काठमाण्डु– अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई नकरात्मक परेको अवस्थामा मौद्रिक नीतिमा परिवर्तन हुन सक्ने बताएका छन् । नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघको संयुक्त प्रतिनिधिमण्डल आइतबार भेट्दै अर्थमन्त्री शर्माले बजारलाई कुनै पनि हालतमा प्यानिक हुन नदिने बताएका हुन ।
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै एक व्यक्ति वा संस्थाले एक बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँबराबरको मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेपछि आइतबार सेयर बजारमा प्रभाव परेको छ । लगानीकर्ताहरुले भने मौद्रिक नीतिका कारण बजारमा नकरात्मक प्रभाव परेको भन्दै अर्थमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
यो समाचार तयार पार्दासम्म नेप्से ६३ अंकले आरालो लागिसकेको छ । अर्थमन्त्री शर्माले मौद्रिक नीतिका कारण सेयर बजारमा नकारात्मक प्रभाव परे पुनरावलोकन गर्न सकिने आश्वासन दिएका छन् ।
सेयर लगानीकर्ताहरुले अधिकतम सेयर धितो कर्जाको सीमासँग सम्बन्धित व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन्। अर्थमन्त्री शर्माले यो व्यवस्था कार्यान्वयनका लागी २ वर्षको समयसीमा दिने प्रतिवद्धता जनाएका छन् । उनले अधिकतम १२ करोडको सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले बजारलाई नकरात्मक प्रभाव पारे त्यसमा पुनरावलोकन गर्न सकिने धारणा समेत राखेका छन् ।




प्रतिक्रिया