काठमाण्डु – सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
त्यस्तै अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयले सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा कायर्दल गठन गरेको छ ।
गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्त्व हुनेगरी समिति बनाइएको र समितिले काम पनि सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरि सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रयोजनका लागि विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन शुरु गरेको छ । अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ । उद्धारका लागि + ९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिने मन्त्रालयले छ ।
काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार गरेको पनि जनाएको छ ।
फगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा जानकारी लिनका लागि नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ ।





प्रतिक्रिया