एजेन्सी – विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबानले राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् ।
‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं’, तालिबानका प्रवक्ताले अलजजिरासँग भनेका छन् ।
विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जानकारी दिएका छन्। तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।
कहाँ छन् राष्ट्रपति घानी ?
आइतबार तालिवानी लडाकु काबुल प्रवेश गरेपछि देश छाडेका अफगान राष्ट्रपति घानी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ । सुरुमा राष्ट्रपति घानी भागेर ताजिकिस्तान गएको समाचारहरु सार्वजनिक भएका थिए । तर, पछि अलजजिराले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार सार्वजनिक गरेको थियो ।
अल जजिराका अनुसार राष्ट्रपति घानीसँगै उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार पनि तासकन्द पुगेका हुन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।
देश छाडेपछि राष्ट्रपति घानीले के भने ?
राष्ट्रपति घानीले सामाजिक सञ्जालमार्फत रक्तपात रोक्नका लागि आफुले काबुल छोडेको बताएका छन् । उनले ‘आफू काबुलमा रहँदा रहँदै तालिबान काबुल आइपुग्दा झडप हुन्थ्यो र त्यसले लाखौँ मानिसको ज्यान खतरामा पर्न सक्थ्यो’भनेका छन् ।
‘आज मैले एउटा कठिन निर्णय गर्नुपर्ने थियो । तालिबान (राष्ट्रपति भवन) मा आउन चाहन्थे, उनीहरूका अगाडी उभिऔँ वा आफ्नो प्यारो जसको सुरक्षार्थ विगतका २० वर्ष मैले आफ्नो जीवन समर्पण गरेँ त्यसलाई छौडौँ ?’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘यदि यस क्रममा अनगिन्ती मानिसहरू मारिन्थे र हामीले काबुल सहरको विध्वंश देख्नुपर्थ्यो भने त्यसबाट ६० लाखको जनसङ्ख्या भएको सहरमा ठूलो मानवीय त्रासदी उत्पन्न हुन्थ्यो’, उनले अगाडी भनेका छन् ।
तालिबानले हतियारको बलमा विजय हासिल गरेको उल्लेख गर्दै उनले अब अफगानहरूको इमान, सम्पत्ति तथा आत्मसम्मानको रक्षाको जिम्मा तालिबानको भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘तर उनीहरूले मन जित्न सक्दैनन् । इतिहासमा कहिल्यै पनि कसैलाई पनि शक्तिले मात्र यो हक प्राप्त भएको छैन र मिल्ने पनि छैन । अब उनीहरूले एउटा ऐतिहासिक परीक्षाको सामान गर्नुपर्नेछ ।’
तालिवानले सिंगो देश नै कब्जामा लिएपछि अफगानिस्तान छाड्नेको संख्या बढेको छ । काबुल विमानस्थलमा भिडभाड अत्यधिक मात्रामा देखिएको छ । अफगानिस्तानमा सबै व्यवसायिक उडानहरु रद्द गरिएका छन् । अमेरिका, क्यानडा, बेलायत, जर्मनीसहितले आफ्ना नागरिकको उद्धारका लागि सैनिक विमानको प्रयोग गरेका छन् ।
तालिबानको कब्जामा देश गएसँगै महिलाहरुको अवस्थालाई लिएर चासो र चिन्ता व्यक्त भएको छ । केही क्षेत्रमा तालिबानले महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको खबर आइरहेका छन् । अति तीव्र गतिमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो । मात्रै १० दिनको अन्तरालमा उनीहरुले देशका सबै प्रमुख शहरमा कब्जा जमाएका हुन् ।
तालिबानले आइतवार आफ्ना लडाकूहरूलाई काबुलमा प्रवेश गर्न आदेश दिएको थियो। सुरुमा उसले आफ्ना लडाकूलाई काबुल वरिपरि मात्र तैनाथ गरेको थियो। सुरक्षा फौजले राजधानीका भागहरू छाडेपछि त्यहाँ उत्पन्न अराजकता र लुटलाई रोक्न गइरहेको तालिबानले बताएको थियो। अल जजिरा टेलिभिजनले प्रसारण गरेका भिडिओ फुटेजहरूमा तालिबान लडाकूहरू राष्ट्रपति भवनभित्र हतियारसहित देखिएका छन्।




प्रतिक्रिया