काठमाण्डु – सरकारले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तालिबानले अफगानिस्तानलाई कब्जामा लिएपछि त्यहाँ फसेका नेपालीहरुलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको हो ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालीहरुको उद्धारका लागि सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्य अघि बढाउन निर्देशन दिने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ ।’
त्यस्तै, प्रवक्ता कार्कीले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका समस्यालाई कूटनैतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको र कूटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिए । साथै बैठकले आमरण अनशन फिर्ता लिन भूपू गोर्खा सैनिकलाई आग्रह गरेको छ ।




प्रतिक्रिया