काठमाण्डु – सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेसँगै एमालेको ओली समूहमा खैलाबैला मच्चिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु निकट शीर्ष नेताहरुलाई बालकोट बोलाएर आन्तरिक छलफल गरेका छन् । महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेलललगायत नेताहरुले ओलीसँग छलफल गरेका हुन् । उनीहरुबीच आगामी रणनीतिबारे छलफल भएको बुझिएको छ ।
संसद अधिवेशन आजै मध्यराति अन्त्य हुँदैछ । माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै पाएपछि ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्न लागेका हुन् ।
सरकारले अध्यादेश ल्याउनुअघि नै कुनै कदम चाल्नेबारे समेत ओली छलफलमा छन् । ओली र नेपाल पक्षबीच यसअघि १० बुँदे सहमति भएपनि कार्यान्वयनमा दुवै पक्षले चासो देखाएका छैनन् ।
एमाले एकताको लागि १० बुँदे सहमतिका आधारमा अघि बढ्ने भने पनि माधव नेपालले समान अधिकारसहितको अध्यक्षबाहेक अन्य कुरामा सहमत नहुने बताएपछि ओली अबको रणनीतिका बारेमा छलफलमा छन् ।
यसबीचमा माधव नेपाल पक्षका वार्ता टोली संयोजक समेत रहिसकेका उपाध्यक्ष भीम रावलले आइतबार महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसँग लामो छलफल गरेका थिए ।
माधव नेपालका शर्त मान्न ओली तयार नभएपछि एमाले नेताहरु नयाँ रणनीतिका लागि छलफलमा जुटेका हुन् ।




प्रतिक्रिया