नेपालमा संसदीय व्यवस्था नै असफल, ओलीको समृद्ध नेपालको नारा उदांगो भयो : क्रान्तिकारी माओवादी

नेपालमा संसदीय व्यवस्था नै असफल, ओलीको समृद्ध नेपालको नारा उदांगो भयो : क्रान्तिकारी माओवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपालमा संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकालेको छ ।

क्रान्तिकारी माओवादीको चार दिनसम्म काठमाण्डुमा चलेको बैठकले कम्युनिस्ट नामधारी डबल नेकपा’ भित्रको अन्तर कलह, प्रतिनिधिसभा विघटन तथा पुनः स्थापना, अदालतको परमादेशद्वारा पार्टीको विखण्डन तथा देउवा गठबन्धन सरकारको निर्माण, आकाङ्क्षी धेरै भएर मन्त्रीहरु नियुक्त गर्न नसकेको स्थिति लगायत कुराहरुले संसदीय व्यवस्था नै असफल बन्दै गएको निष्कर्ष निकालेको हो ।

त्यस्तै पार्टीका महासचिव मोहन बैद्य किरणले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा उदांगो भएको समेत टिप्पणी गरिएको छ ।

‘महङ्गी, चरम बेरोजगारी, अभाव तथा गरिबी, भ्रष्टाचार, कमिशनतन्त्र, देशी तथा विदेशी प्रतिक्रियावादीको शोषण, उत्पीडन तथा हस्तक्षेप आदिका कारण मजदुर, किसान तथा निम्न पुँजीपति वर्गसहित आम जनताका जिविकाका समस्या अत्यन्तै भयावह र विकराल बन्दै गएको कुरा औंल्याउँदै ओली सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा पूरै उदाङ्गो बन्न गएको,’ प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा पनि असफल हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘शेरबहादुर देउवा पनि यही सङ्कटग्रस्त व्यवस्थाको असफल प्रतिनिधि हुनाले वर्तमान गठबन्धन सरकारबाट पनि राष्ट्रियता, जनतन्त्र तथा जनजिविकाका समस्या हल हुन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ ।