माधव नेपाललाई सरकारमा जान अध्यादेशले बाटो खोल्यो, नयाँ दल दर्तालगत्तै मन्त्रिमण्डल विस्तार

माधव नेपाललाई सरकारमा जान अध्यादेशले बाटो खोल्यो, नयाँ दल दर्तालगत्तै मन्त्रिमण्डल विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ता गरेपछि मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । माधव नेपालको निर्णय पर्खिएको सरकारलाई मन्त्रिमण्डल विस्तारको बाटो खुल्ने भएको हाे ।

एमालेभित्रको विवाद समाधान नभएपछि नेपाल समूह अलग्गिने निर्णयमा पुगेको हो । नेपाल समूहकै सहजताका लागि सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको छ । राष्ट्रपति कार्यालयमा दर्ता भएकाे अध्यादेश जारी भएलगतै नेपाल पक्ष निर्वाचन आयोग जाने तयारीमा छ ।

दर्ताको सबै प्रक्रिया पुरा गरेकाे नेपाल पक्षले राष्ट्रपतिको कदमलाई पर्खिएको हाे । एमाले एकिकरणलाई प्राथमिकतामा राखेको नेपालपक्ष अलगिएपछि भने सरकारमा जाने भएको छ । उसले (नेपाल समूह) नयाँ दल दर्ता गरेसँगै मन्त्रिमण्डल विस्तारको कामले पूर्णता पाउने नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।

‘अहिलेसम्म उहाँहरुलाई कुरियो । अब नयाँ दल दर्ता गरेपछि मन्त्रिमण्डल विस्तार हुन्छ । नेपाल पक्षले सम्भवतः आजै दल दर्ता गर्ने बताएका छन् । केही दिन भित्र मन्त्रिपरिषदले पूर्णता पाउनेछ,’ ती नेताले भने ।

अहिले प्रधानमन्त्री देउवाले ४ मन्त्री र १ राज्यमन्त्रीलाई लिएर सरकार चलाइरहेका छन् । यता जनता समाजवादी पार्टी नेपालले पनि एक दुईदिन भित्रै सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउने भएको छ ।

आज पनि केन्द्रिय कार्यकारीणी सदस्यहरुको बैठक रहेकाले त्यसपछि सरकारमा सहभागिताबारे निर्णय हुने नेता प्रदिप यादवले बताए । मन्त्रिपरिषदले पुर्णता नपाउँदा मन्त्रीस्तरीय निर्णय लिन कठिन भएको छ ।