लुम्बिनीमा सांसद तानातान, मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

लुम्बिनीमा सांसद तानातान, मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएको १० दिन बितिसक्दा पनि कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत लिन सकेका छैनन् ।

नेकपा एमालेले लगातार प्रदेशसभा अवरुद्ध पार्दा मुख्यमन्त्री केसीले विश्वासको मत लिन नपाएका हुन् । नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले नेकपा एमालेले प्रदेशसभा चल्न नदिएका कारण विश्वासको मत लिन नसकिएको बताए ।

एमालेले सूर्य चिन्हबाट चुनाव जितेका अजय शाही र विमला वलीलाई कारबाही गर्नुपर्ने माग गर्दै पटकपटक प्रदेशसभा अवरुद्ध पार्दै आइरहेको छ । सांसदद्वय शाही र वली तत्कालिन नेकपाबाट सूर्य चिन्हबाट चुनाव जितेका थिए ।

यता प्रदेशसभा सचिवालयले प्रदेशसभामा नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले नेकपा एमालेलाई पत्र पठाउँदै सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्ने आधार नभएको भन्दै कारवाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने प्रष्ट पारेको हो ।

‘एमालेको अवरोधले सदन सुचारु हुन सकेन । एमालेले सूर्य चिन्हबाट चुनाव जितेका दुई जना सांसदलाई कारबाही नगरेसम्म सदन ठप्प पार्दै आइरहेकाले समस्या उत्पन्न भएको हो,’ उनले भने ।

प्रमुख सचेतक खानले सभामुखले एमालेको मागका विषयमा कानूनी परामर्शका लागि सदन स्थगित गरेको बताए । ‘सभामुखले कानुनी बाटोमा परामर्श गर्नुपर्ने भएकाले बैठक स्थगित गर्नुभएको हो । उहाँले भोलीका लागि बैठक बोलाउनुभएको छ । सम्भवतः चाँडै नै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ,’ उनले भने ।

मन्त्रिमण्डल विस्तारमा ढिलाई

गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका केसीले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । मुख्यमन्त्री केसीको मन्त्रिमण्डलमा ६ जना मन्त्री नियुक्त भएका छन् भने अझै पाँच वटा मन्त्रालय खाली छन् ।

ग्रामीण तथा शहरी विकास मन्त्रालयमा डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रालयमा कृष्णध्वज खड्का, भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहसराम यादव मन्त्री , अजय शाही  र सुमन शर्मा रायमाझी विनाविभागीय मन्त्री रहेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शिक्षा तथा सामाजिक विकास मन्त्रालय र उद्योग, वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री केसीले राखेका छन् । माओवादी, कांग्रेस र जसपालाई भागबन्डा गर्नुपर्ने भएकाले केसीले पाँच वटा मन्त्रालय आफूसँगै राखेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक खानले मुख्यमन्त्रीले विश्वासको मत लिन नपाएका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको जानकारी दिए । उनकाअनुसार एमालेका दुई जना सांसदको टुंगो लागेपछि मन्त्रिमण्डलले पूर्णता पाउनेछ ।

‘एमालेले दुई जना सांसदलाई कारबाही गरेको पत्र दर्ता भएको छ । त्यसको निवारण नभएकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो,’ प्रमुख सचेतक खानले भने ।

विमला वलीलाई मन्त्री बनाउने तयारी

मुख्यमन्त्री केसीले सांसद वलीलाई मन्त्री बनाउने तयारी गरेका छन् । नेकपा एमाले छोडेर माओवादी केन्द्रमा गएकी सांसद वलीलाई मन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दियो ।

वलीले माओवादी रोज्दा शंकर पोखरेल नेतृत्वको सरकार ढलेको थियो । सरकार गठनमा निर्णायक बन्दै आएकी वलीले मन्त्रीमा दाबी गरेको एक माअ‍ोवादी केन्द्रका सांसदले जानकारी दिए ।

‘सरकार गठनमा उहाँ निर्णायक बन्दै आइरहनु भएको छ । उहाँको सहयोगमा नयाँ सरकार गठन सम्भव भएको हो । विमलाजीले पनि मन्त्री हुने चाहना व्यक्त गर्नु भएको छ,’ ती सांसदले भने ।