मोरङ- मोरङको पथरीशनिश्चरेमा शनिबारदेखि तेस्रो पथरी–शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पथरी–११ फुटबल क्लबले जनाएको छ।
पथरी रंगशालामा हुने उद्घाटन खेलमा आयोजक पथरी–११ फुटबल क्लब र भारतको युकेएफसी आमनेसामने हुँदैछन्।
क्लबका अध्यक्ष सुमन विकेका अनुसार प्रतियोगितामा नेपालका चर्चित क्लब र भारतको एक टोलीसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
सहभागी टोलीमा नेपाल पुलिस क्लब, थ्री स्टार क्लब ललितपुर, न्युरोड टिम (एनआरटी), सलहेस युथ क्लब सिरहा, झापा–११, रेड हर्स इलाम, युकेएफसी भारत र आयोजक पथरी–११ छन्।
गत संस्करणको विजेता सलहेस युथ क्लब यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ।
आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीको सहभागिता रहनेछ। भारतबाट सहभागी हुने केही खेलाडीले आई–लिगसमेत खेलेको आयोजकको दाबी छ।
नेपाली फुटबलमा चर्चामा रहेका एरण थापासहित विभिन्न राष्ट्रियस्तरका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने अपेक्षा गरिएको छ।
विजेतालाई ६ लाख
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ६ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। गत संस्करणको तुलनामा यसपटक पुरस्कार राशि वृद्धि गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। आयोजकले प्रतियोगितामार्फत स्थानीयस्तरमा फुटबलको विकास, नयाँ प्रतिभाको पहिचान तथा राष्ट्रियस्तरका खेलाडीलाई स्थानीय मैदानमा खेल्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।
दर्शकका लागि प्यारापिट
दर्शकको सुविधालाई ध्यान दिँदै यसपटक प्यारापिट संख्या बढाइएको छ। गत संस्करणमा १७ वटा प्यारापिट रहेकोमा यसपटक २३ वटा निर्माण गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्यारापिटमा बसेर एकैपटक करिब ५ देखि ६ हजार दर्शकले खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
खेल हेर्न सर्वसाधारण १ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। मौसम अनुकूल रहे लिग चरणका खेलमा कम्तीमा ३ हजार र फाइनलमा करिब १५ हजार दर्शक उपस्थित हुने आयोजकको अपेक्षा छ। प्रतियोगिताको फाइनल असोज २४ गते हुनेछ।
स्थानीय खेलाडी उत्पादनमा जोड
पथरी–११ फुटबल क्लबले गोल्डकपलाई प्रतियोगिता आयोजनामा मात्र सीमित नराखी स्थानीय खेलाडी उत्पादनको अभियानका रूपमा अघि बढाउने जनाएको छ।
क्लबले आफ्नै खेलाडी उत्पादन, नियमित प्रशिक्षण र फुटबल विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको सहभागिताले स्थानीय खेलाडीलाई सिक्ने तथा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्ने आयोजकको विश्वास छ।
आठ टोलीबीच हुने प्रतिस्पर्धामा उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। गत संस्करणको विजेता सलहेस उपाधि जोगाउने प्रयासमा रहँदा आयोजक पथरी–११ सहित अन्य टोली पनि उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन्।




प्रतिक्रिया