अफगानिस्तानबारे सार्क राष्ट्रहरुसँग वार्ता गर्न पाँच पूर्वराजदूतहरुको आग्रह

अफगानिस्तानबारे सार्क राष्ट्रहरुसँग वार्ता गर्न पाँच पूर्वराजदूतहरुको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच पूर्वराजदूतहरुले अफगानी नागरिकको जीवन रक्षाका लागि सार्क राष्ट्रहरुसँग वार्ता गर्न आग्रह गरेका छन् । पाँच पूर्वराजदूतहरुले संयुक्त वक्तव्य जारी गर्दै पाकिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न आग्रह गरेका हुन् ।

अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको उनीहरुले बताएका छन् । ‘त्यहाँ विकसित भैरहेको स्थितिले यो क्षेत्रको सामाजिक, आर्थिक, आप्रवासन र सुरक्षा मामलामा दूरगामी परिणाम पर्ने निश्चित छ ।

यद्यपि तालिबानले अफगानिस्तानमा आममाफीको घोषणा गरेको छ, महिलालाई काम, स्कुलमा फर्कन र सरकारमा सहभागी हुन आह्वान गरेको छ र देशको शासनको लागि अन्य समूहहरुसँग वार्ता गरी समाधान निकाल्नको लागि काम गरिरहेको छ. तर उनीहरुले मान्यता पाउनको लागि अन्तर्राष्ट्रिय समुदायलाई गरेको अपिल सत्तामा रहँदाको उनीहरुकै विगतको व्यवहार र वर्तमानमा देश छाड्न चाहने नागरिकहरुप्रतिको दुर्व्यवहारको कारणले गर्दा संशयको घेराभित्र छ ।

यो गम्भीर मोडमा सार्कको अध्यक्षको हैसियतमा नेपालले यस क्षेत्रमा स्थिरताको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । हामी नेपाल सरकारलाई अफगानिस्तानको राजनैतिक घटनाक्रमले उत्पन्न चुनौतिहरुलाई सम्बोधन गर्न तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको लागि आवश्यक पहल गर्नको लागि आग्रह गर्दछौं ।’ वक्तव्यमा भनिएको छ ।

संयुक्त वक्तव्य जारी गर्नेहरुमा रुसका लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ, भारतका लागि पूर्व राजदूतहरु दीपकुमार उपाध्याय र दुर्गेशमान सिंह, अमेरिका र बेलायतका लागि पूर्व राजदूत डा. सुरेश चालिसे र चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के रहेका छन् ।