काठमाण्डु – पछिल्लो समय काठमाण्डु उपत्यकामा अस्वभाविक भीडभाड बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन गर्ने चेतावनी दिएको छ ।
मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै केही दिन यता उपत्यकामा बढिरहेको अस्वभाविक भीडभाडले संक्रमणदर उच्च बिन्दुमा पुग्ने भन्दै कडा लकडाउन गर्ने चेतावनी दिएको हो ।
मन्त्रालयले सोमबार मनाइएको गाईजात्रातर्फ संकेत गर्दै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भीडभाड गर्ने क्रम बढेको बताएको छ ।
‘पछिल्लो समय कोरोना संक्रमण केही घटे पनि संक्रमणदर भने स्थिर छ । तर, निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भीडभाड गर्ने क्रम बढेको छ । यसले अन्ततः कोरोना संक्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नैपर्ने अवस्थामा पुर्याउँछ,’ मन्त्रालयले भनेको छ, ‘त्यस्तो अवस्था आउन नदिने दायित्व तपाई हाम्रै हो । त्यसैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमान्दारीपूर्वक पालना गरौं ।’




प्रतिक्रिया