एकीकृत समाजवादी पार्टीमा १५१ जना केन्द्रीय सदस्य, वरिष्ठ नेता एक जना मात्रै (पूर्णपाठ)

एकीकृत समाजवादी पार्टीमा १५१ जना केन्द्रीय सदस्य, वरिष्ठ नेता एक जना मात्रै (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले जनताको बहुदलीय जनवाद (जबज) का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ ।

नेकपा एमालेबाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको २ दिने बैठकले पार्टीको विधान पारित गरेको हो । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।

पार्टीको विधानमा पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै समानता सहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ ।

विधानमा शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यता सहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तात्कालिक लक्ष्य रहेको जनाइएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति, विचार र मूल्यका विरुद्ध विद्रोह गर्दै नयाँ पार्टी गठन गरिएको बताए ।

पूर्व प्रधानमन्त्री नेपालले एमालेको नेतृत्वले विधि, विधानको कुनै पालना नगरेको जनाउँदै विद्रोह गर्नुपरेको स्पष्ट गरे । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश बमोजिम भदौ २ गते सो दलले नयाँ दल दर्ताका लागि निवेदन दिएकामा भदौ ९ गते सनाखतका लागि निर्वाचन आयोगले समय तोकेको छ ।

पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, सचिव ७ गरी १७ पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी १५१ रहनेछन् ।

केन्द्रीय कमिटी दुई महाधिवेशनबीच पार्टीको सर्वोच्च कार्यकारी संस्था हुने विधानमा उल्लेख छ । केन्द्रीय कमिटीको कूल सदस्य सङ्ख्याको कम्तिमा एक तिहाइ अर्थात् ३३ प्रतिशत सदस्य महिला अनिवार्य हुनेछन् ।

केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्यूरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था गरिएको विधान सो पार्टीले पारित गरेको छ ।

यस्तै पार्टीको अनुशासन सम्बन्धी कार्य सम्पादन गर्न राष्ट्रिय परिषद्बाट निर्वाचित केन्द्रीय अनुशासन आयोग बनाउने भएको छ । आयोगमा अध्यक्ष र सचिवसहित ३१ सदस्य हुने व्यवस्था छ ।

साथै प्रदेश कमिटीमा अध्यक्ष एक जना उपाध्यक्ष २ जना सचिव एक जना उपसचिव २ जना र सदस्यहरु रहने व्यवस्था गरिएको छ । प्रदेश कमिटीमा कम्तिमा एक तिहाई सदस्य मलिा हुने व्यवस्था गरिएको छ ।