काबुल– अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मानिसको ज्यान जानेगरी विस्फोट गराउने आतंककारीलाई खोजीखोजी मार्ने चेतावनी दिएका छन् ।
घटनामा १० जना अमेरिकी मरिन र ३ जना अरु सैनिक मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । बम विस्फोटमा परि ६० जनाभन्दा बढी अफगानी नागरीकको ज्यान जानुको साथै २ सय भन्दा बढी घाईते भएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले घटनालगत्तै पत्रकार सम्मेलन गर्दै अरुको ज्यान बचाउन खटिएको सैनिकहरुको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अमेरिकाको मिसन जारी रहने बताएका छन् । उनले आतंककारीको धम्कीबाट नडराउने र उद्दारको मिसनलाई जारी राखिने जानकारी दिए ।
बाइडेनले अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई बचाउंनुका साथै अफगान सहयोगीलाई बाहिर निकाल्ने मिसन जारी रहने र आवश्यक परे थप सैनिक पठाउने चेतावनी समेत दिएका छन् ।
हवाईट हाउसले पछिल्लो १२ घण्टामा ७ हजार ५ सय नागरिकको काबुलबाट उद्दार गरेको जानकारी दिएको छ ।
बाइडेनले घटनाको जिम्मेवारी लिने आईएसआईएस के विरुद्ध अपरेशन प्लान बनाउन सेनाका कमाण्डरहरुलाई निर्देशन दिएका छन् ।




प्रतिक्रिया