काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले शनिबार जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटक पटक सूचना गर्दा पनि नबुझाएको भन्दै पुनः यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा उक्त रकम बुझाई आफ्नो हरहिसाब फरफारक गर्न अनुरोध गरेको छ ।
तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने तथा प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवं जमानी बस्नेको जायजेथाबाट सरकारी बाँकी बक्यौता असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् ।
साथै सञ्चालनमा रहेका वायुसेवा कम्पनी एवं सञ्चालनमा रहेका र नरहेका पार्टीलेसमेत सार्वजनिक सूचना प्रकाशित गर्नु नपर्ने गरी नियमानुसार बुझाउनुपर्ने रकम निर्धारित अवधिभित्र बुझाउनसमेत क्यानले आग्रह गरेको छ । प्राधिकरणको विवरणमा नेकोन एयरका सञ्चालकमा दीपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी रहेका छन् ।




प्रतिक्रिया