कांग्रेसमा सहमति : जिल्ला सभापतिहरुले तोडे अनशन

कांग्रेसमा सहमति : जिल्ला सभापतिहरुले तोडे अनशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले अनशन तोडेका छन् । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै मंगलबारदेखि रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले शनिबार साँझ अनशन तोडेका हुन् ।

क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले पार्टी कार्यालय पुगेर अनशन तोडाएका हुन् । नेता  सिटौलाले सबै माग पूरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका थिए ।

क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै पौडेल पक्षका नुवाकोट, काठमाण्डु, उदयपुर र संखुवासभाका जिल्ला सभापति रिले अनशनमा थिए ।

उनीहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राखेर अनशन सुरु गरेका थिए ।

जिल्ला सभापतिहरुको अनशन अन्त्यका लागि शनिबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेका थिए ।

छलफलले जिल्ला सभापतिहरुले राख्ने सबै माग पूरा गर्ने सहमति भएपछि नेताहरु सिटौला, रिजाल र लेखक पार्टी कार्यालय पुगेका थिए ।