प्रधानमन्त्रीकाे निजि सचिवालय विस्तार गर्न देउवालाई हम्मेहम्मे, कामकाज प्रभावित

प्रधानमन्त्रीकाे निजि सचिवालय विस्तार गर्न देउवालाई हम्मेहम्मे, कामकाज प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै निजि सचिवालय विस्तारमासमेत ढिलाई गरेका छन् । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले मन्त्रिपरिषद विस्तार सँगसँगै निजि सचिवालय विस्तारमासमेत ढिलाई गरेका हुन् ।

सत्ता साझेदार दलहरुका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएपनि देउवाले प्रधानमन्त्रीको निजी सचिवालय विस्तारमा समेत आलटाल गरेका हुन् । प्रधानमन्त्री निकट नेताहरुकाअनुसार एक दुई दिनमै मन्त्रिमण्डलले पूर्णता पाए पनि सचिवालय विस्तारमा भने अझै एक हप्ता लाग्ने भएको छ । पाँच जना मन्त्रीको टेकोमा अडिएका देउवाले स्वकिय सचिवमा भानु देउवालाई नियुक्त गरेपनि अन्य पद रिक्त छ ।

देउवाका लागि तत्काल राजनीतिक, कूटनीतिक र प्रेस सल्लाहकारको आवश्यकता रहेको जानकारहरू बताउँछन् । तर, देउवा सचिवालय बनाइहाल्नेतिर भन्दा पनि पहिला मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा रहेको स्रोतले जानकारी दियो । नेकपा (एकीकृत सामाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि सरकारमा सहभागी गराउनका लागि मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको गठबन्धनका नेताहरुले बताएका छन् ।

नेकपा एमालेबाट माधव नेपाल बाहिरिएसंगै मन्त्रिपरिषदलाई पूर्णता दिने बिषयमा छलफल भइरहेको छ । अबको एक दुई दिनमै मन्त्रिपरिषदले पूणता पाउने भएको छ । मन्त्रिमण्डल विस्तारमा भएको ढिलाईको असर प्रधानमन्त्रीको निजि सचिवालयमा देखा परेको छ ।

जानकारहरुका अनुसार प्रधानमन्त्रीको निजि सचिवालय निकै महत्वपूर्ण भएकाले व्यक्ति छनौटमा निकै ध्यान दिनुपर्ने चुनौती देउवा सामू छ । तर, सचिवालय विस्तारमा प्रधानमन्त्री विस्तारमा देउवा पत्नि आरजु राणा देउवाको हस्तक्षेप रहेको आरोप लाग्ने गरेको छ ।

यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि आरजुले सरुवा बढुवादेखी विभिन्न नियुक्तिमा हस्तक्षेप गर्ने गरेको आरोप लागेको थियो । प्रधानमन्त्रीको सचिवालय गठनमा ढिला हुँदा सरकारको कामकारबाहीको बिषयमा जनमानसमा नकारात्मक सन्देश जान सक्ने पूर्वमुख्यसचिव बिमल कोइरालाले बताए ।

अवको एक हप्ताभित्र प्रधानमन्त्रीको  सचिवालय

प्रधानमन्त्रीकोे निजी सचिवालयका काममा ‘प्रधानमन्त्रीसमक्ष प्राप्त हुने गुनासो, सुझाव तथा अन्य जनसम्पर्कसम्बन्धी व्यवस्थापकीय कार्य गर्ने’ भनिएको छ । त्यस्तै मन्त्री, पदाधिकारी, कूटनीतिक तथा विभिन्न व्यक्तिहरूको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने लगायतका विषय छन् ।

सचिवालयले पूर्णता नपाउँदा यी सबै कार्य प्रभावित बनेका छन् । प्रधानमन्त्री देउवा मन्त्रिपरिषदलाई पूर्णता दिने काममै अल्मलिँदा सचिवालय सुनसान बनेको छ । अहिले सचिवालयको सबै काम देउवाका स्वकीय सचिव भानु देउवाले हेर्दै आएका छन् ।

मन्त्रिपरिषदलाई पूणता दिएसंगै निजि सचिवालयले पूर्णता पाउने प्रधानमन्त्रीका स्वकिय सचिव देउवाले बताए ।

उनले भने, ‘मन्त्रिपरिषद र निजि सचिवालय संगसंगै होला जस्तो छ । प्रधानमन्त्रीले दुवैलाई एकैचोटी पूर्णता दिनेगरी तयारी गर्नुभएको छ । यसबारे छलफल हुँदैछ ।’

यस्ता छन् प्रधानमन्त्रीको निजी सचिवालयले गर्नुपर्ने काम

-प्रधानमन्त्रीसँग मन्त्री, पदाधिकारी, कूटनीतिज्ञ तथा विभिन्न व्यक्तिहरूको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने र सोको अभिलेख व्यवस्थापन गर्ने,

-सल्लाहकारसँगको समन्वयमा प्रधानमन्त्रीको दैनिक कार्यतालिका तयार गर्ने ।

-प्रधानमन्त्रीको भ्रमण कार्यक्रम, कार्यसूची तथा समय व्यवस्थापन र सुरक्षासम्बन्धी समन्वय गर्ने ।

-प्रधानमन्त्रीबाट निर्देशन भएका राष्ट्रिय महत्वको विषयमा श्रव्य दृष्य कार्यक्रम उत्पादन र प्रसारणसम्बन्धी कार्यमा समन्वय गर्ने ।

-प्रधानमन्त्री समक्ष प्राप्त हुने गुनासो, सुझाव तथा अन्य जनसम्पर्कसम्बन्धी व्यवस्थापकीय कार्य गर्ने।

-प्रधानमन्त्री समक्ष पेस गर्नुपर्ने निवेदन, प्रतिवेदन, ज्ञापनपत्र, फाइल लगायतका कागजातहरू पेस गर्ने र सोको अभिलेख राख्ने ।

– प्रधानमन्त्रीबाट भएको निर्णय तथा निर्देशन कार्यान्वयनको लागि सम्बन्धित महाशाखामार्फत मन्त्रालयहरूमा पठाउने ।

-प्रधानमन्त्रीको तर्फबाट हुने निर्देशन, सन्देश, शुभकामना तथा वक्तव्यको मस्यौदासम्बन्धी कार्य गर्ने।

-प्रधानमन्त्रीको अध्यक्षता वा संयोजकत्वमा हुने विभिन्न बैठकको समन्वय र सहजीकरण गर्ने ।

-नेपाल सरकारका मन्त्रीहरूको आन्तरिक भ्रमणसम्बन्धी कार्यको सहजीकरण गर्ने ।

-प्रधानमन्त्रीको निजी सचिवालयको पत्राचार, अभिलेख व्यवस्थापन तथा अन्य प्रशासनिक कार्य गर्ने।