संसद सचिवालयले भन्यो : माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने अवस्था रहेन

संसद सचिवालयले भन्यो : माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने अवस्था रहेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद सचिवालयले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।

नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाउँदै उनीहरुलाई कारवाही गरिरहनु नपर्ने निष्कर्ष निकालेको हो ।

माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेकाले एमालेले पठाएको पत्रबमोजिम कारवाही गर्नुपर्ने अवस्था नरहेको स्रोतले बतायो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्विप उलंघन आरोपमा एमालेले एमालेले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुखले प्रक्रिया अगाडि नबढाई ‘विचाराधीन’ अवस्थामा राखेका थिए । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको थियो ।

यही क्रम संसद सचिवालयले उनीहरु एमालेकै सांसद रहेको र एमालेले पठाएको पत्र विचाराधीन अवस्थामा रहेको भन्दै निर्वाचन आयोगलाई पत्र लेखेपछि त्यही आधारमा आयोगले सनाखत गरेर माधव नेपाल पक्षलाई नयाँ दलको मान्यता दिएको थियो ।

एमालेले माधवकुमार नेपालसहित विरोध खतिवडा, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण, कलिला खातुन, सरला यादव, कृष्णलाल महर्जन, मेटमणि चौधरी र भवानी खापुङलाई कारवाही गरेको पत्र संसद सचिवालयमा बुझाएको थियो ।