वीर अस्पतालमा डेन्टल सर्जनको दरबन्दी थप भएन, विज्ञहरुको आपत्ति
काठमाण्डु – वीर अस्पतालको दन्त स्वास्थ्य विभागमा थप गरिएको दरबन्दी अवैज्ञानिक भएको भन्दै आलोचना सुरु भएको छ ।नेपाल डेन्टल एसोसिएसन तथा दन्त स्वास्थ्य क्षेत्रसंग सम्बन्धित विज्ञहरुले डेन्टल सर्जनको दरवन्दी थप नभएकोमा आपत्ति जनाएका हुन् ।
डेन्टल सर्जनको दरवन्दी कम हुँदा सेवा प्रवाहमा समेत असर पर्ने उनिहरुको तर्क छ । साथै सरकारी सेवामा पाउने सुविधामा समेत विभेद हुने बताइएको छ । नाम उल्लेख नगर्ने सर्तमा सरकारी सेवामा कार्यरत एक डेन्टल सर्जनले भने, ‘अस्पतालमा ग्राउण्डमा काम गर्ने आठौँ तहको मेडिकल/डेन्टल अधिकृतले नै हो, उल्लेख्य संख्यामा बेड थप्ने निर्णय भएपछि सोहि बमोजिम मेडिकल अधिकृतको संख्यामा उल्लेख्य वृद्धि गरिएको छ, जुन अत्यन्त सकारात्मक कदम हो । तर देशको प्रमुख सरकारी अस्पतालमा आठौँ तहको डेन्टल डाक्टर अधिकृतको संख्या अझै पनि शुन्य छ, यो भन्नु पर्दा ग्लानि र हाँसो दुवै लाग्छ ।’
अहिले थप गरिएको दरबन्दी अनुरुप वीरको डेन्टल विभागमा ११ औं तहको कन्सल्टेन्ट डेन्टल सर्जन २ जना र ९ औं तह तथा १० औं तहका कन्सल्टेन्ट तथा कन्सल्टेन्ट डेन्टल सर्जन १३ जनाको दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कायम हुन जाने बुझिन्छ । यो बाहेक अस्पताल विकास समिति तथा न्याम्सबाट समेत सो विभागमा कन्सल्टेन्ट तथा रेसिडेन्टहरु कार्यरत छन् ।
हुन त मन्त्रालयकै पछिल्लो निर्णय अनुसार ४ जना आठौं तहको डेन्टल सर्जनको दरबन्दी केही महिना अघि मात्र पारित भएको थियो, तर थप दरबन्दीको हालको निर्णयमा ती दरबन्दी हटाएर कन्सल्टेन्टको दरबन्दी थप गरिएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयका उपचारात्मक सेवा अन्तर्गत आँखा, नाक कान, घांटी, मुख तथा स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले दरबन्दी अवैज्ञानिक भएपनि यसले सर्वसाधरणलाई सेवा प्रवाहमा कुनै असर नपर्ने जिकिर गरे । उनले भने, ‘दरबन्दीमा हामीसंग मन्त्रालयले कुनै समन्वय गरेन, प्रशासनले परामर्श नगरी दरबन्दी पठाउंदा समस्या भएको हो । तर दरबन्दीकै कारण सेवा प्रवाहामा त कुनै असर गर्दैन ।’
यता वीर अस्पतालको डेन्टल विभाग प्रमुख डा शैली प्रधानले पनि दरबन्दीकै कारण सेवा प्रवाहमा समस्या भएको भन्नु गलत हुने बताइन । आफुहरुले डेन्टल सर्जनको दरबन्दी माग गरेपनि कहाँबाट रोकियो भन्नेबारे आफुलाई जानकारी नभएको बताइन् । आफुहरुसंग प्रयाप्त जनशक्ति रहेको उनको दावी छ । तर डेन्टल चियरको अभावका कारण जनशक्ति भएर पनि सेवा दिन नसकेको बताइन् । वीरमा अहिले दैनिक करीब ६० जना नयाँ विरामी दात सम्बन्धि समस्या लिएर पुग्ने गरेको उनले बताइन् ।
डेन्टल सर्जनको दरबन्दी थप गर्न नेपाल डेण्टल एसोसिएसनले स्वास्थ्य मन्त्रालयको ध्यानाकषण गराउने भएको छ । मन्त्रालमै पुगेर डेण्टल सर्जनको दरबन्दी थप गर्न माग गर्ने एसोसिएसनका कार्यकारिणी सदस्य डा हरि प्रसाद ओलीले बताए । उनले भने, ‘हामीले यसबारे स्वास्थ्य सचिव ज्युसंग समय मागेर नै छलफल गर्दैछौ, जनताले तिरेको करबाट जति बेड थपे पनि दाँत लगायत अन्य आधारभूत उपचार गर्न ३ महिना कुर्ने अवस्था हुने हो भने जुनसुकै विभागमा जे सुकै थपे पनि सर्वसाधारणले पाउने सेवामा भने रौँ बराबर पनि फरक हुने वाला छैन, यो गम्भीर चिन्ताको विषय हो ।’