सातै प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने सरकारको तयारी

सातै प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिएका हुन् ।

उनले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचार तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राखे ।

उनले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताए । ‘यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्’, उनले भने, ‘अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न पर्‍यो । हामी उपलब्ध गराउन तयार छौ ।’

उनले दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ राखे । उनले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिए । अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।