भोलि मन्त्रालयको भागबन्डा मिलाउने, बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी

भोलि मन्त्रालयको भागबन्डा मिलाउने, बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले बुधबार मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको हो ।

भोलि मंगलबार सबै मन्त्रालयमा भागवण्डा मिलाएर पद बाँडफाँटको टुंगो लगाउने र बुधबार मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको स्रोतल जानकारी दियो । देउवा नेतृत्वको सरकार गठन भएको ५० दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

सरकार विस्तारबारे सहमति जुटाउन आइतवार पनि सत्तारुढ दलका शीर्ष नेता दुई पटक बसेका थिए । तर सत्ता साझेदार सबैले आफ्नो अडान नछाडेपछि कुरो मिलिसकेको छैन ।

आजको बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई उपस्थित थिए । आजको बैठकमा  बजेट संशोधनबारे छलफल भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबारसम्म मन्त्रालयको भागवण्डा टुंगो लगाएर मन्त्री छान्ने बताइसकेका छन् । उनले मंगलबार पनि बैठक बसेर मन्त्रिपरिषद विस्तार बारेमा ठोस सहमति जुटाइने जानकारी दिए ।

अहिलेसम्म गठबन्धनमै मन्त्रालयको भागवण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको हो । माओवादी केन्द्रले ६ मन्त्रालय र एक राज्य मन्त्रालयमा दाबी गरेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ६ वटा मन्त्रालयमा दाबी गरेको छ । जसपाले पनि ६ वटा मन्त्रालयकै दाबी गरिरहेको छ । उसले माओवादी र समाजवादीकै हैसियत पाउनुपर्ने अडान लिएको छ ।