काठमणडु – विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै बैठक बोलाएका छन् । अध्यक्ष रवीन्द्र मिश्रले एकीकरणको दस्तावेजका विषयमा छलफल गर्न बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि केन्द्रीय कमिटी बैठक बोलाएको सचिवालय सदस्य तथा संचार विभाग प्रमुख प्रकाश चन्द्र परियारले जानकारी दिए ।
अध्यक्ष मिश्रले भदौ १७ गते दिउँसो १२ बजेका लागि बैठक बोलाएका छन् भने मिश्रले बोलाएको रोक्न भन्दै ११ बजे नै बैठक बोलाएका छन् । पार्टी एकीकरणको दस्तावेजका विषयमा दुई नेताबीच विवाद भएको थियो ।
‘विवेकशील साझा पार्टीको विधान दफा २० (१०) अनुरुप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेण्डा तय गरिने गरिएको व्यहोरा यहाँहरु सबैलाई अवगतै छ । यसपटक पनि उक्त अभ्यास अनुरुप एजेण्डामा सहमति कायम गर्न गरिएको हरसम्भव प्रयास सफल हुन नसकेको र पार्टीको अध्यक्षले उहाँकै शब्दमा मार्ग परिवर्तन गर्नु भएका कारण पार्टीलाई लामो समय अनिर्णयको बन्दी बनाउनु उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी बैठक आह्वान गरेको छु,’ केन्द्रीय सदस्यहरुलाई पठाएको पत्रमा संयोजक पाण्डेले लेखेका छन् ।
बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायतका एजेण्डामा छलफल हुने पाण्डेले उल्लेख गरेका छन् ।
संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहितको पार्टी अध्यक्ष मिश्रले दस्तावेज सार्वजनिक गरेपछि उनको दस्तावेजलाई चुनौती दिँदै संयोजक पाण्डेसहितका चार नेताले पनि अलग्गै दस्तावेज सार्वजनिक गरेका छन् ।
२०७४ साउन ११ मा एक भएका तत्कालीन विवेकशील पार्टी र साझा पार्टी २०७५ पुसमा विभाजित बनेका थिए । फेरि २०७७ मंसिरमा एकीकरण गरेका उनीहरुले ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेका थिए । तर एउटा महाधिवेशन पनि नहुँदै पार्टीमा खेदिएको विवादले विवेकशील साझा फेरि फुटतर्फ अग्रसर भएको देखिन्छ ।




प्रतिक्रिया