पाँच दलको गठबन्धन, संसदको एक्लो प्रतिपक्ष एमाले

पाँच दलको गठबन्धन, संसदको एक्लो प्रतिपक्ष एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभामा भारी बहुमतका साथ २०७४ साल फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले एक्लिएका छन् । प्रधानमन्त्री बन्दा साथ दिएका दलहरुले मात्र साथ छाडेनन् आफ्नै दल पनि विभाजित बनेको छ ।

सरकारले राजनैतिक दल सम्बन्धी अध्यादेश ल्याएसंगै नेकपा एमाले विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेको छ । ओली निरङकुश बनेको भन्दै माधव नेपालसमूहले कांग्रेससहितको गठबन्धनलाई समर्थन गरेर ओलीलाई सरकारबाट हटाएको हो ।

ओलीलाई सरकारबाट हटाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेको छ । देउवाले आफुलाई संसदमा विश्वासको मत दिएका नेपाललाई पार्टी फुटाउनका लागि सहज बनाउन राजनैतिक दलसम्बन्धी अध्यादेश ल्याएका हुन् । अहिले गठबन्धनका दलहरु साझा सहमतिमा सरकार सञ्चालनको कसरत गरेका छन् । तर, एमाले एक्लो प्रतिपक्षी बन्ने निश्चित जस्तै भएको छ ।

जनता समाजवादीबाट विभाजित बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारमा सामेल हुने बताएको छ । संसदमा देउवालाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षले सरकारमा सहभागी हुने बताएको हो ।

यद्यपी लोसपाको दाबीबारे छलफल भइरहेको नेताहरुले बताएका छन् । संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी अहिले एक भएका छन् ।

यस्तै प्रतिनिधिसभामा एक मात्र सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि देउवालाई समर्थन गरेर गठबन्धनमा सामेल भएको छ । यदी लोसपा पनि सरकारमा गयो भने एमाले मात्र एक्लो प्रतिपक्षी दल बन्ने निश्चित छ । संसदमा भएका स्वतन्त्र सांसदहरुको मत सरकार गठन प्रक्रियामा निर्णायक थिएन ।

विपक्षीलाई ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित केही नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । सार्वजनिक मञ्चहरुमा अध्यक्ष ओलीले आफ्नो नेतृत्व क्षमतामा कुनै कमी नभएको बताउँदै एक दुई वटा पात झर्दैमा रुख नमर्ने टिप्पणी गरेका छन् ।

पार्टीलाई एक ढिक्का बनाउन नसकेको भन्दै अहिले ओलीको आलोचना भइरहेको छ । अध्यक्ष ओलीले भने, ‘एक/दुई पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एकदुइटा पात पहेँलिएर झर्छन्, अर्को टुसो आउँछ । अहिले हेर्नुस् त कमिटीहरुको टुसा पलाएको । नयाँ नयाँ पालुवा पलाउँदैछन्, नयाँ नयाँ हाँगा हाल्दैछन् ।’

अध्यक्ष ओलीले आफूहरुसंग लड्न नसकेर दलहरुले गठबन्धन बनाएको बताए । उनले भने, ‘एकएक दर्जनका १० वटा पार्टी मिले भने कति हुन्छ ? दश दर्जन नै त भयो होला । १ सय २० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ?’

नेपालको राजनीति दुई धुर्वमा

एमालेका महासचिव ईश्वर पोख्रेलले नेपाली राजनीति दुई धुर्वमा बाँडिएको बताएका छन् । एउटा धुर्वको नेतृत्व केपी ओलीले गरेको र अर्को धुर्वमा गठबन्धनका रहेको उनले बताए ।

‘नेपालको पोलिटिक्स दुई धुर्वमा विभाजित भयो । एउटा धुर्वको नेतृत्व केपी ओलीले गुर्नुभएको छ । अर्को धुर्वको पोलीटिक्स गठबन्धनका नाममा यिनै छितकी पातकी कामहरु हुदृै छन्,’ उनले भने, ‘हामी के प्रतिक्षामा छौं भने यो अपवित्र, षड्यन्त्रपुर्ण, जनविरोधी, लोकतन्त्र विरोधी, यो प्रतिगमनको अपराधको अध्यान गर्न लाज नमान्ने गठबन्धनको विरुद्धमा हामी केपी ओली केन्द्र भएको यो नेशनल पोलीटिक्सलाई अगाडी बढाउन चाहन्छौं । ’

उनले केपी ओली विरुद्ध सारा दल एकठाउँमा भएको अचम्मको दुश्य देखिएको बताए । उनले केपी ओली नतृत्वको धुर्वले नै देशको राष्ट्रिय राजनीतिमा अर्थ राख्ने दाबी गरे ।

गठबन्धन स्वइच्छाले नभई बाध्यात्मक केपी ओलीले गरेको संसद विघटनका कारण गठबन्धन जन्मिएको राजनीतिक विश्लेषक सोमत घिमिरे बताउँछन् । अहिलेको सत्ता गठबन्धन स्वइच्छाले नभइ बाध्यताले बनेको उनको भनाई छ ।

उनि भन्छन्, ‘हेर्नुस यो गठबन्धन स्वइच्छाले बनेको हैन यहाँ त के भयो भने जव केपी ओलीले संसद विघटन गरे त्यसपछि बाध्य भएर ओलीको विरुद्धमा लाग्न गठबन्धन बनेको हो ।’ उनले गठबन्धनका दलहरुबीच आ–आफ्नै स्वार्थ रहेकाले यो टिकाइरहन मुस्किल देखिएको बताए ।

‘यो गठबन्धन चुनावसम्म मात्र हो । चुनावमा पनि यिनिहरु मिलेर जालान भन्न सकिदैन यि सबैसंग आ–आफ्नै स्वार्थ छन् । यिनिहरुको कुरा मिलेको छैन् । यि कुरा त हामीले प्रधानमन्त्रीले डेढ महिनासम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेको देखेरै थाहा पाइन्छ,’ महासचिव पोखरेलले भने ।

नेकपा (एमाले)बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेको र जनता समाजवादी पार्टी, नेपाल विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको अवस्थामा संसदको गणित पनि फेरबदल भएको हो ।

फेरिएको गणितसँगै प्रतिनिधिसभामा नेकपा (एमाले)मा ९८ जना सांसद छन् भने राष्ट्रियसभामा २६ जना रहेको छ । त्यस्तै नेपाली कांग्रेसको प्रतिनिधिसभामा ६३ जना र राष्ट्रियसभामा ७ जना, माओवादी केन्द्रको प्रतिनिधिसभामा ४९ जना र राष्ट्रियसभामा १५ जना सांसद रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधिसभामा २३ जना र राष्ट्रियसभामा ७ जना, जनता समाजवादी पार्टीको प्रतिनिधिसभामा २१ जना र राष्ट्रियसभामा २ जना र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधिसभामा १३ जना र राष्ट्रिय सभामा १ जना सांसद रहेका छन् ।

राष्ट्रिय मान्यता पाएका यी दलसँगै प्रतिनिधिसभामा स्वतन्त्र हैसियतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीको १ जना, राष्ट्रिय जनमोर्चाको १ जना, नेपाल मजदुर किसान पार्टीको १ जना र स्वतन्त्र सांसद १ जना रहेका छन् । त्यस्तै राष्ट्रिय सभामा पनि १ जना स्वतन्त्र सांसद रहेका छन् ।