काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।
भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।
नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनीत हुनेछन । दिपशीखाका अनुसार वाइसिएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनीत गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनीत हुनेछन ।
गत शनिबारबाट सुरु भएको वाइसिएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटाले दाबी गरेका थिए । सोमबार बसेको माओवादीको स्थायी कमिटी बैठकले पनि भावी अध्यक्षमा देवकोटा कि श्रीपाईली भन्ने निर्णय लिन नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिइएको छ ।
अध्यक्षका दावेदार देवकोटाले उमेर हद कटाउनका लागि १ बर्ष मात्रै बाँकी रहेकाले महाधिवेशनसम्म आफूले नेतृत्व पाउनुपर्ने दावी गरेका छन् । श्रीपाईलीले भने एक वर्षका लागि नेतृत्व दिने फेरि अर्को बर्ष अर्को नेतृत्व चयन गर्दा संगठन क्रियाशील नहुने तर्क गर्दै आफूले नेतृत्व पाउनुपर्ने तर्क गरेका छन् । दुवै पक्षलाई मनाएर सहमतिमा नेतृत्व चयन गराउन यतिखेर अध्यक्ष प्रचण्डले खुमलटार निवासमा दुवै पक्षलाई बोलाएर छलफल गरिरहेका छन् ।




प्रतिक्रिया