पुत्लादहन कानुनविपरीत हो, त्यसैले सचेत गराउन खोजेका हौं : गृह प्रवक्ता

पुत्लादहन कानुनविपरीत हो, त्यसैले सचेत गराउन खोजेका हौं : गृह प्रवक्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा जुलुस तथा प्रदर्शन कानुनविपरित भएको बताएको छ ।

दार्चुलाका जयसिंह धामी मृत्यु प्रकरण तथा नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको घटनालाई लिएर प्रदर्शन बढ्न थालेपछि सरकारले विज्ञप्ति नै जारी गरेर कानुनविपरितका त्यस्ता गतिविधिमा रोक लगाउने प्रयास गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मित्रराष्ट्रका सरकार प्रमुखविरुद्ध देशभित्र दिनदिनै पुत्लादहन हुन थालेपछि बाध्य भएर कानुन सम्झाउनुपरेको प्रस्टोक्ति दिएका छन् ।

‘कानुनले नै पुत्लादहनलाई प्रतिबन्ध लगाएको छ, त्यसमाथि मित्रराष्ट्रको सरकार प्रमुखविरुद्ध निरन्तर प्रदर्शनले कूटनीतिक सम्बन्धमा असर पर्ने भएकाले विज्ञप्ति जारी गरिएको हो,’ पोखरेलले भने, ‘पुत्लादहन नगर्न मन्त्रालय अनुरोध गर्दछ ।’

तर, उनले कुन ऐनमा टेकेर प्रतिबन्ध लगाइएको हो ? त्यो भने खुलाएनन् । उनले भने, ‘फौजदारी काुननअन्तर्गत पर्छ होला ।’ तर, जुलुस मात्रै गरेका कारणले विज्ञप्ति जारी नगरिएको उनको भनाइ छ ।

मन्त्रालयले प्रदर्शनमा रोक लगाउन निर्देशन दिनुलाई अभिव्यक्ति स्वतन्त्रतामा बन्देज नलगाएको पनि उनको जिकिर छ । ‘प्रेस विज्ञप्ति जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामा सरकारले बन्देज लगाएको छैन, अलिकति कानुन सम्झाएको हो,’ पोखरेलको भने, ‘अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार गम्भीर र सचेत छ ।’