काठमाण्डु – काठमाण्डु–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सडकमा रातिको समयमा यात्रुबाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेको छ ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार काठमाण्डुबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ ।
उक्त रुटमा चल्ने यात्रुबाहक भाडाका एवम् सार्वजनिक सवारी साधन बिहान ५ बजेपछिमात्र बल्खुबाट छुट्न पाउनेछन् । यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारी साधनको प्राविधिक अवस्थाको पूर्ण जाँच गरेर मात्र सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले काठमाडौँ जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी यूनिटले कडाइका साथ भाडाका एवम् यात्रुबाहक प्रत्येक सवारी साधनको अनिवार्य रूपमा जाँच गर्ने निर्णय गरेको सीडीओ पौडेलले जानकारी दिए ।
काठमाण्डुबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा दुर्घटना हुँदा एकै परिवारका छसहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका थिए ।


प्रतिक्रिया