काठमाण्डु – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले विधान मिचेको आरोप लगाएका छन् । विधानले एकल निर्णय स्वीकार नै नगरेको अवस्थामा अध्यक्ष मिश्रले एकल बैठक राखेर नेताहरूलाई कारवाहीको चेतावनी दिनु हास्यास्पद भएको बताएका छन् ।
आज विज्ञप्ति जारी गर्दै संयोजक पाण्डेले पार्टी एकीकरणको घोषणापत्र नै दस्तावेज भएको भन्दै समान अधिकारसहित मिश्रलाई अध्यक्ष र आफूलाई संयोजक बनाएको उल्लेख गरेका हुन् । सम्झौता नै उल्लंघन गर्ने हो भने पदमा बसिरहने नैतिकता नै नहुने उनले बताएका छन् ।
‘सम्झौतापत्र नै लत्याउने हो भने हामी कुन नैतिकताले अध्यक्ष र संयोजक भएर बस्न सक्छौँ ? सामान्य नैतिकतालाई नै गुमाएर सुसंस्कृत राजनीति कसरी गर्न सकिएला ? सुसंस्कृत राजनीति गर्ने दलका नेतृत्वले उत्तर दिने बेला आएको छ । हामी मध्ये कसैलाई पनि वैकल्पिक राजनीतिको ‘अपहरण’ गर्ने छुट छैन । विवेकशील आन्दोलनलाई थाङ्नामा सुताउने अधिकार कसैलाई छैन,’ पाण्डेले विज्ञप्तिमा भनेका छन् ।
उनले पार्टी एकताको मर्म नमार्न समेत मिश्रलाई आग्रह गरेका छन् । ‘पार्टी एकीकरणको मर्म मार्दै, विधान मिच्दै गरिएका यी गतिविधिहरूले वैकल्पिक राजनीतिको, सुसंस्कृत राजनीतिको अवसान तर्फ त जाँदै छैन ? पार्टीमा गम्भीर प्रश्न उब्जिएको छ । सदस्यहरू चिन्तित छन् ।’ विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया