काठमाण्डु – अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले विवादमा छ । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन खोजिएको भन्दै अहिले देशव्यापी विरोध सुरु भएको छ । जनस्तरमा समेत एमसीसी अनुमोदन गर्न नहुने आवाज उठिरहेका बेला दलहरू भने यसलाई कार्यान्वयन गर्न जोडबल गरिरहेका छन् ।
मुख्यतयाः सत्तारुढ दल नेपाली कांग्रेसले यसअघिनै केन्द्रिय समितिको बैठकबाटै एमसीसीको पक्षमा रहेको सार्वजनिक गरिसकेको छ भने तत्कालीन नेकपा एमसीसीकै विषयले विभाजित बन्यो । एमालेभित्र पनि अध्यक्ष केपी शर्मा ओली एमसीसी अनुमोदन गर्ने पक्षमा रहेको बुझिन्छ। उनले आफू प्रधानमन्त्री हुँदा नै एमसीसी पास गर्ने जनाउ दिइसकेका थिए ।
पछिल्लो समय अध्यक्ष ओलीले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागिरहेका छन् । उनले सार्वजनिक कार्यक्रममार्फत एमसीसी पास गर्ने वा फेल गर्ने स्पष्ट जवाफ दिन आग्रह गरेका हुन् ।
सत्ता गठबन्धनभित्र दुई धार
यसअघि आफ्नै सरकारले सम्झौता गरेको विषय आफ्नै पालामा कार्यान्वयन गराउन प्रधानमन्त्री देउवाले कसरत थालेका छन् । तर, एमसीसी हुबहु पास हुन नदिने पक्षमा सत्तासाझेदार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन् । एमसीसीको विषय अहिले गठबन्धनभित्र पेचिलो बनेको देखिन्छ । एक महिनाअघि नै अन्त्य गरेको संसद् बैठक एमसीसी पास गराउनकै लागि फेरी आह्वान गरिएको आँकलन हुन थालेको छ ।
आज एमसीसीका उपाध्यक्षको नेपाल भ्रमण र बुधबार अर्थात भोलि संसद् बैठक बोलाउनुलाई एमसीसी पारित गर्ने दाउमा सरकार रहेको आँकलन गर्न थालिएको छ । एमसीसीका केही बुँदा देशको कानुनभन्दा माथि रहेकाले यो अनुमोदन भएका देशको सार्वभौमसत्ता माथी नै आँच पुग्ने माओवादीका नेताहरूले बताउँदै आएका छन् । तर यस विषयमा कांग्रेस भने मौन छ ।
गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पनि संसोधन हुनुपर्ने पक्षमा छ । नेकपा एसका नेता विरोध खतिवडाले एमसीसी सम्झौता संसोधन गर्नुपर्ने बताउँछन् । उनले भने, ‘हामीले एमसीसी सम्झौता संसोधन गरेरमात्र पास गर्ने भनेका छौँ हुवहु कसरी पास गर्न सकिन्छ । हिजो हामी एमालेका हुँदापनि हामीले सम्झौता हुबहु पास गर्न हुदैन भनेका थियौ आजपनि त्यही भन्छौ र भोलि पनि त्यही भन्छौ ।’
जनताको मुख थुन्ने कोसिसमा सरकार
एमसीसीका विषयमा चर्को आलोचनापछि सरकारले नागरिक आवाजलाई दबाउने चेष्टा गरेको छ । आफूलाई अलोकतन्त्रवादी शक्ति भन्ने कांग्रेसले नै नागरिकको वाक स्वतन्त्रता हनन् गरेको भन्दै तिब्र आलोचना सुरु भएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै सन्धि सम्झौताका विषयमा नबोल्न चेतावनी दिएको छ । एमसीसीनै उल्लेख नगरेपनि देशब्यापि पविरोधहुने संकेत पाएको गृहले एमसीसीको विरोध गरे कारवाही गर्ने धम्किपूर्ण विज्ञप्ति सार्वजनिक गरेको हो । विज्ञप्तिप्रति मानवअधिकारवादी संघसंस्थाले विरोध समेत जनाएका छन् ।
ओलीले बोली फेरे
आफू सरकारमा हुँदा एमसीसी कुनैपनि हालतमा पास गर्नुपर्ने बताउदै आएका नेकपा एमालेका अध्यक्ष केपि शर्माओलीले सरकारबाट बाहिरिएसंगै आफ्नो बोली पनि फेरेका छन् । आफू प्रधानमन्त्री हूँदा यथास्थितिमै जसरी पनि एमसीसी पारित गराउनु पर्ने बताउँदै आएका ओलीले सत्ताबाट बाहिरिएसँगै संसोधनसहित पास हुनुपर्ने बताएका हुन् ।
एमसीसी अहिल्यै पास हुदैनः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिल्यै एमसीसी पास नहुने बताएका छन् । मंगलबार वाइसिएलको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुदैन,तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउदैन ।’
एमसीसी ठीक कि गलत ? फेरी बहसको विषय बनेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेसंगै एमसिसि उपाधक्षको नेपाल भ्रमण, एकमहिना नपुग्दै संसद् बैठक लगाएतका श्रृखलाले एमसिसि पास भइहाल्ला कि भन्ने आम चासो बनेको छ । अहिले सामाजिक सञ्जालमा भने निकै तातेको छ । रोचक कुरा, यो बहसले युवा पुस्ता पनि तानिएका छन् ।




प्रतिक्रिया