काठमाण्डु – सर्वोच्च अदालतले सरकारी नियुक्तिमा कम्तीमा पनि स्नातक तह र १० वर्षको कार्यानुभव भएका व्यक्तिलाई मात्र नियुक्त गर्न आदेश दिएको छ ।
सरकारी तथा सार्वजनिक संस्थानका पदाधिकारी नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित विषयमा कम्तीमा स्नातक तहको शैक्षिक उपाधि हासिल गरी १० वर्षको कार्यानुभव भएका व्यक्तिलाई मात्र नियुक्त गर्न सर्वोच्चले निर्देशनात्मक आदेश दिएको हो ।
नेपाल आयल निगमको विज्ञ सञ्चालक नियुक्तिको विषयलाई लिएर आयल निगमलाई विपक्षी बनाउँदै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो ।
आयल निगम विज्ञ सदस्यको रूपमा ०७७ माघ ११ गते नियुक्त भएका सहदेव बोगटीको शैक्षिक योग्यता एसएलसी तहसम्म मात्र भएको विषयलाई लिएर प्रश्न उठाउँदै उपभोक्ता हित संरक्षण मञ्चले उनको नियुक्ति बदर माग गर्दै रिट दायर गरेको थियो ।
रिटमा मञ्चका तर्फबाट सुशील पन्त, ज्योति बानियाँ, विष्णुप्रसाद तिमिल्सिना र जयप्रसाद पौडेलले र सरकारकातर्फबाट सञ्जीवराज रेग्मी, आयल निगमका तर्फबाट ममता महर्जन, डिल्ली अधिकारी लगायतले बहस गरेका थिए ।
दुवै पक्षको बहसपछि न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले उक्त निर्देशनात्मक आदेशबमोजिम कानुनी प्रावधान निर्माण नभएसम्म तत्काल गरिने नियुक्ति बदर गरेको जनाएको छ ।






प्रतिक्रिया