एमाले सुदूरपश्चिम इन्चार्जको विवाद टुंगियो, लेखराज भट्ट इन्चार्ज तोकिए

एमाले सुदूरपश्चिम इन्चार्जको विवाद टुंगियो, लेखराज भट्ट इन्चार्ज तोकिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको  सुदूरपश्चिम प्रदेश पार्टी  इन्चार्ज लेखराज भट्ट नै कायम हुने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्ट नै कायम भएकाे बताएका छन् ।

उनले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज परिवर्तन नहुने र उपाध्यक्षको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । आइतबार बिहान नेता रावलसहितका शीर्ष नेताहरुसँगको भेटमा अध्यक्ष ओलीले भीम रावलसँग इन्चार्जको जिम्मेवारी हेरफेर नहुने बताएका हुन् ।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज उपाध्यक्ष समेत रहेका भीम रावल हुनुपर्ने भएपनि अध्यक्ष ओलीले भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने स्पष्ट पारेका हुन् ।

गत फागुन २३ गतेको सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि भट्टले माअ‍ोवादी केन्द्र परित्याग गरेर एमाले रोजेका थिए । त्यसलाई ओलीले भट्टराई सुदुरपश्चिम इन्चार्ज तोकेका थिए । त्यसबेला रावल माधव नेपाल समुहमा रहेका थिए ।

माधव नेपाल सहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन: ओलीसँगै बसेका थिए । १० बुँदे कार्यदलका संयोजक समेत रहेका रावल पार्टी जेठ २ मा फर्कने भन्ने सहमतिपछि सुदूरपश्चिमको संयोजक पनि स्वतः आफै हुनुपर्ने पक्षमा छन् ।

नेकपा एमालेले १० बुँदे कार्यान्वयनका सन्र्दभमा सहजीकरण गर्न सुदूरपश्चिममा नेता रावल, भट्ट र कर्ण थापालाई जिम्मेवारी दिएको छ । नेता कर्ण थापाले प्रदेश कमिटीको अध्यक्ष आफु र इन्चार्ज लेखराज भट्ट भएको दाबी गरे ।

‘अध्यक्षजीले भीम रावलजीलाई तपाई उपाध्यक्षको भूमिका निर्वाह गर्नुस् । लेखराजजीको जिम्मेवारी परिवर्तन हुँदैन भन्नुभयो । भीम रावलजीको असन्तुष्टी केही पनि छैन् । उहाँले पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु भन्नुभयो,’ उनले भने, ‘सुदूरपश्चिममा म अध्यक्ष र लेखराज भट्ट  ईञ्चार्ज हो ।’

सुदुरपश्चिम संयोजकमा रावल र भट्टबीच विवाद भएपछि आइतबार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल,महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बोलाएर छलफल गरेका थिए ।