काठमाण्डु- क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल करियर टुंग्याउन लागेको चर्चा सुरू भएको छ। तर, उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा भने गरिसकेका छैनन्।
डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छाडेर स्पेनको राजधानी म्याड्रिड पुगेपछि उनको भविष्यलाई लिएर प्रश्न उठेको हो।
रोनाल्डो बिहीबार बिहान करिब १ः२० बजे म्याड्रिड विमानस्थलमा अवतरण गरेका थिए। त्यसको करिब २० मिनेटपछि उनी पोर्चुगिज नम्बर प्लेट भएको कारमा विमानस्थलबाट बाहिरिएका थिए।
उनको आगमनको खबर पाएपछि करिब १२ समर्थक विमानस्थलको निजी क्षेत्रमा पुगेका थिए। उनीहरूले रोनाल्डोलाई तालीसहित स्वागत गर्दै तस्बिर खिच्ने प्रयास गरे।
प्रशिक्षकसँग विवाद
रोनाल्डो र पोर्चुगलका प्रशिक्षक जोर्जे जिससबीचको सम्बन्धमा पछिल्लो समय तनाव देखिएको फुटबलसम्बन्धी समाचारमा उल्लेख छ।
नर्वेविरुद्धको पछिल्लो खेलमा पोर्चुगलले २–१ को जित निकाले पनि रोनाल्डो पूरै समय बेन्चमै थिए। खेलमा आफूलाई मैदानमा नउतारेपछि रोनाल्डो असन्तुष्ट बनेको बताइएको छ।
त्यसपछि उनले प्रशिक्षणमा समेत सहभागिता जनाएनन्। उनले प्रशिक्षकसँग भेटवार्ता गरेका थिए। भेटपछि अवस्था सामान्य बनेको अनुमान गरिएको थियो।
तर डेनमार्कविरुद्धको खेलअघि प्रशिक्षकले पत्रकार सम्मेलनमा आफ्नो रणनीति कुनै खेलाडी वा फुटबलसँग सम्बन्धित अन्य व्यक्तिले परिवर्तन गर्न नसक्ने अभिव्यक्ति दिएपछि रोनाल्डोले टोलीको शिविर छाडेको सार्वजनिक भएको छ।
यस घटनाले रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीमा आफ्नो भविष्यबारे गम्भीर निर्णय लिन लागेका हुन् कि भन्ने अड्कलबाजी बढाएको छ। तर सन्यासको घोषणा भएको छैन।
यद्यपि, रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरिसकेको अवस्था छैन। उनी टोलीको शिविरबाट बाहिरिनुको कारण प्रशिक्षकसँगको विवादसँग जोडिएको बताइएको छ।
म्याड्रिड फर्किनु र राष्ट्रिय टोलीको शिविर छाड्नुले पोर्चुगलमा उनको फुटबल करियरलाई लिएर नयाँ बहस सुरु गराएको छ।
रोनाल्डोको अनुपस्थितिमा पोर्चुगलले डेनमार्कसँग नेसन्स लिगको खेल खेल्दैछ। यस खेलसँगै रोनाल्डो र प्रशिक्षकबीचको विवादले कस्तो रूप लिन्छ भन्ने विषयमा पनि चासो बढेको छ।




प्रतिक्रिया