बिलेट उत्पादन गर्ने उद्योगलाई सहुलियत : स्पन्ज आइरनमा भन्सार शून्य

बिलेट उत्पादन गर्ने उद्योगलाई सहुलियत : स्पन्ज आइरनमा भन्सार शून्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले बिलेट उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रस्तुत गरेको प्रतिस्थापन बजेटमार्फत फलाम उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ (स्पन्च आइरन)को आयातमा भन्सार शुल्क शून्य मायम गरिएको छ । यसअघि स्पन्ज आइरनमा ५ प्रतिशत भन्सार लाग्दै आएको थियो ।

स्वदेशी उत्पादनलाई बढवा दिन उक्त नीति लिएको उनको भनाइ छ । आयातित बिलेटमा लाग्ने अन्तःशुल्क भने प्रतिटन १६५० रुपैयाँबाट २५०० रुपैयाँ पुर्‍याएको छ । यसले नेपालमा बिलेट उत्पादन गर्ने उद्योगहरुलाई राहत पुगेको छ । उद्योगीहरुले भने सरकारको नीतिको स्वागत गरेका छन् ।

सर्वोत्तम स्टीलका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बिलेट उत्पादनका लागि खानीबाट निस्केको फलाम रिफाइन गरेर बन्ने स्पञ्ज आइरनको जरुरी रहेको बताए । त्यसअनुसार पञ्ज आइरनबाट बन्ने बिलेट गुणस्तरीय हुने उनले  विश्वास व्यक्त गरे ।

‘हामीले स्पञ्ज आइरन आयात गरेर बिलेट बनाएपछि आयात घट्छ, भ्यालु एड बढी हुने र रोजगारी समेत सिर्जना हुने हुन्छ,’ न्यौपानेले भने । उनकाअनुसार खानीबाट निकालेको फलामको धाउलाई फुटाएर सामान्य ग्यास चेम्बरबाट प्रशोधन गरेपछि स्पन्ज आइरन बन्छ । त्यही स्पन्ज आइरनलाई १६ सय डिग्री तापक्रममा पगालेर बिलेट बनाइन्छ ।

‘बिलेटबाट डन्डी बनाउँदा प्रतिटन एक सय युटिन बिजुली खपत हुन्छ भने स्पन्ज आइरनबाट बिलेट बनाउँदा प्रतिटन सात सय युनिटभन्दा बढी बिजुली खपत हुन्छ,’ न्यौपानेले भने, ‘एउटा रोलिङ मिलमा सयजनाले काम गर्छन् भने त्यत्तिकै क्षमताको बिलेट उद्योग चलाउन दुई सयजना कामदार चाहिन्छ ।’

नेपालमा वार्षिक ८५ अर्ब रुपैयाँको बिलेट आयात हुँदै आएको छ । सरकारको उक्त नीति कार्यान्वयनमा आए नेपाली स्टिल उद्योगलाई धेरै फाइदा पुग्ने उद्योगीहरुले बताएका छन् ।

स्वदेशमा बिलेट उद्योग खुलेपछि स्वदेशका फलाम खानीहरू उत्खनन हुने, रोजगारी सिर्जना हुने र नेपाल बिलेटमा आत्मनिर्भर बन्न सक्ने अध्यक्ष न्यौपानले बताए । सरकारले बिलेट उद्योगलाई दिएको सुविधाले घरेलु बजारमा डन्डीको मूल्य १० प्रतिशतसम्म घट्ने सम्भावना रहेको उद्योगीहरुले बताएका छन् ।

नेपालमा वार्षिक १० लाख टनभन्दा बढी डन्डी उत्पादन हुने र स्पन्ज आइरनबाट बिलेट उत्पादन हुँदा कम्तीमा चार करोड लिटर फर्नेस आयल बचत हुने उद्योगीहरुले विश्वास लिएका छन् । एक लिटर फर्नेस आयलको मूल्य अहिले ६८ रुपैयाँ छ । फर्नेस आयलका लागि वार्षिक करिब एक अर्ब रुपैयाँ भारत गइरहेको छ ।

फर्नेस आयल बिलेट हिटिङ गर्न प्रयोग गरिन्छ । बिलेट आयात गरेर डन्डी उत्पादन गर्दा यसको मूल्य महँगो पर्ने स्वयं उद्योगीहरु स्वीकार गर्छन् । एक टन बिलेट हिटिङ गर्न ४० लिटर फर्नेस आयल खपत हुन्छ । नेपालका डन्डी उद्योगहरुले वार्षिक डेढ करोड लिटर भन्दा बढी फर्नेस आयल खपत गरिरेहको जगदम्बा स्टीलका संचालक शाहिल अग्रवालले बताए ।

साथै नेपालमा बिलेट पनि उत्पादन हुँदा विद्युत खपत बढ्ने भएको छ । डन्डी मात्रै उत्पादन गर्ने रोलिङ मिलले एक टन उत्पादन गर्नका लागि एक सय युनिट विद्युत खपत गर्छन् भने एक टन बिलेट उत्पादन गर्न ७०० युनिट बिजुली खपत हुन्छ । बिलेट पनि आफैं उत्पादन गरेर डन्डी बनाउने उद्योगले कुल ८०० युनिट बिजुली खपत गर्छ ।