सिक्किमको आकाशमा चिनियाँ सैन्य विमान छिरेको दाबी, आउटलुकले लेख्छ : २५ मिनेटसम्म भारतमाथि उडिरह्यो

सिक्किमको आकाशमा चिनियाँ सैन्य विमान छिरेको दाबी, आउटलुकले लेख्छ : २५ मिनेटसम्म भारतमाथि उडिरह्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको सिक्किम राज्यस्थित आकाशमा चिनियाँ सैन्य विमानले हवाई क्षेत्र उल्लंघन गरेको दाबी सार्वजनिक भएको छ।

नोभेम्बर १२ को बिहान करिब ८ बजे भारतीय क्षेत्रमा प्रवेश गरेको भनिएको उक्त विमान भारतीय वायुसेनाको पटकपटकको चेतावनीका बाबजुद करिब २० देखि २५ मिनेटसम्म त्यही क्षेत्रमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चारमाध्यम ‘आउटलुक इन्डिया’ले शनिबार प्रकाशित गरेको विशेष समाचारमा एक स्रोतलाई उद्धृत गर्दै चिनियाँ सैन्य विमान सिक्किमको आकाशमा देखिएको उल्लेख गरेको छ।

उक्त विमान करिब २५ हजार फिटको उचाइमा उडिरहेको अवस्थामा भारतीय वायुसेनाले पत्ता लगाएर रेडियोमार्फत पटकपटक चिनियाँ क्षेत्रमा फर्किन चेतावनी दिएको समाचारमा उल्लेख छ।

तर चेतावनीपछि पनि विमानले तत्काल क्षेत्र नछाडेको र करिब २० देखि २५ मिनेटसम्म त्यही क्षेत्रमा उडान जारी राखेको दाबी गरिएको छ। भारतीय वायुसेनाले विमानको गतिविधि पत्ता लगाएपछि कस्तो प्रतिकारात्मक कदम चाल्यो भन्नेबारे भने खुलेको छैन।

विमानको प्रकार, त्यसले लिएको निश्चित उडान मार्ग, भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको स्थान र अन्ततः बाहिरिएको समयसमेत खुलाइएको छैन। यो लडाकु विमान, निगरानी विमान वा मानवरहित ड्रोनमध्ये कुन प्रकारको विमान थियो भन्ने पनि स्पष्ट छैन।

‘आउटलुक इन्डिया’ले घटनाबारे भारतीय वायुसेनासँग प्रतिक्रिया मागेको जनाएको छ। तर समाचार प्रकाशित गर्दासम्म जवाफ प्राप्त नभएको उसले जनाएको छ। नोभेम्बर १५ सम्म भारतीय वायुसेना वा रक्षा मन्त्रालयले घटनाको आधिकारिक पुष्टि गरेको छैन। चीनले पनि यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

किन संवेदनशील सिक्किम ?

चिनियाँ विमान प्रवेश गरेको भनिएको क्षेत्र भारतको रणनीतिक दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। सिक्किमको सीमा चीनको तिब्बत स्वायत्त क्षेत्रसँग जोडिएको छ। यो क्षेत्र सन् २०१७ मा भारत र चीनका सैनिकबीच लामो समयसम्म तनाव भएको डोक्लाम उपत्यकानजिकै पर्छ।

यस क्षेत्रको अर्को महत्त्वपूर्ण पक्ष सिलिगुडी करिडोरसँगको भौगोलिक निकटता हो। पश्चिम बंगालमा पर्ने यो साँघुरो भूभागलाई ‘चिकेन नेक’ अर्थात् ‘कुखुराको घाँटी’ पनि भनिन्छ। यही करिडोरले भारतका उत्तरपूर्वी राज्यहरूलाई बाँकी भारतसँग स्थलमार्गबाट जोड्छ।

सबैभन्दा साँघुरो स्थानमा करिब २० देखि २२ किलोमिटर चौडाइ रहेको यो करिडोर भारतको सुरक्षा, सैनिक आवतजावत र आपूर्ति व्यवस्थाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। त्यसैले सिक्किम र आसपासको क्षेत्रमा हुने असामान्य सैन्य गतिविधिलाई भारतीय सुरक्षा निकायले संवेदनशील रूपमा लिने गरेका छन्।

सिक्किम क्षेत्र चीन, नेपाल, भुटान र बंगलादेशको निकटवर्ती भूभागमा पर्छ। सिलिगुडी करिडोरको भौगोलिक अवस्थिति र भारतको उत्तरपूर्वी क्षेत्रसँगको सम्बन्धका कारण यस क्षेत्रमा हुने कुनै पनि सैन्य गतिविधिले क्षेत्रीय सुरक्षामा चासो बढाउने गरेको छ।

डोक्लामदेखि लद्दाखसम्म पुराना तनाव

भारत र चीनबीच सीमा क्षेत्रमा सैन्य विमानको गतिविधिलाई लिएर यसअघि पनि विवाद र तनावका घटना भएका छन्।

सन् २०१७ मा डोक्लाम क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच ७३ दिनसम्म आमनेसामनेको अवस्था सिर्जना भएको थियो। भुटानले आफ्नो भूभाग दाबी गर्दै आएको डोक्लाम क्षेत्रमा चीनले सडक निर्माण अघि बढाएपछि भारतीय सैनिक त्यहाँ पुगेका थिए। त्यसपछि दुवै देशका सैनिकबीच तनाव बढेको थियो। अन्ततः दुवै पक्ष सैनिक पछि हट्न सहमत भएका थिए।

सन् २०२० मा पूर्वी लद्दाखमा भारत र चीनका सैनिकबीच तनाव चुलिएका बेला चिनियाँ सैन्य हेलिकोप्टरहरू वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक उडेको विवरण सार्वजनिक भएको थियो। भारतीय वायुसेनाले त्यस क्षेत्रमा लडाकु विमान परिचालन गरी गस्ती तथा निगरानी बढाएको थियो। भारतीय अधिकारीहरूले ती हेलिकोप्टर भारतीय हवाई क्षेत्रमा प्रवेश नगरेको बताएका थिए।

त्यस्तै, सन् २०१७ को अक्टोबरमा उत्तराखण्डको बाराहोती क्षेत्रमा दुईवटा चिनियाँ हेलिकोप्टर भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको आरोप लागेको थियो। त्यही वर्ष नोभेम्बरमा लद्दाख क्षेत्रमा चारवटा चिनियाँ हेलिकोप्टर देखिएको बताइएको थियो।

तीमध्ये एउटा करिब ३० मिनेटसम्म त्यस क्षेत्रमा रहेको विवरण पनि सार्वजनिक भएको थियो। जुन २०१७ मा उत्तराखण्डको चमोली क्षेत्रमा दुई चिनियाँ सैन्य हेलिकोप्टर करिब पाँच मिनेटसम्म उडेको घटना पनि चर्चामा आएको थियो।

सन् २०२२ को जुनमा पूर्वी लद्दाखमा चिनियाँ सैन्य विमान भारतीय सैनिकको अवस्थिति नजिक उडेको रिपोर्ट सार्वजनिक भएको थियो। त्यसबेला भारतीय सैनिक र राडार प्रणालीले विमानको गतिविधि पत्ता लगाएपछि भारतीय वायुसेनाले आफ्नो प्रतिकारात्मक संयन्त्र सक्रिय बनाएको र भारतले सैन्य माध्यमबाट चीनसमक्ष विषय उठाएको ‘आउटलुक इन्डिया’ले जनाएको छ।

कांग्रेसले माग्यो जवाफ

सिक्किम क्षेत्रमा चिनियाँ सैन्य विमान प्रवेश गरेको भन्ने समाचार सार्वजनिक भएपछि भारतको प्रमुख विपक्षी दल कांग्रेसले पनि सरकारको प्रतिक्रियामाथि प्रश्न उठाएको छ।

कांग्रेसले घटनालाई गम्भीर सुरक्षा चिन्ताको विषय भन्दै चीनसमक्ष कडा विरोध जनाउन सरकारसँग माग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको चीन नीतिमाथि प्रश्न उठाउँदै सीमामा हुने गतिविधिबारे सरकार स्पष्ट हुनुपर्ने बताएको छ।

तर कांग्रेसको प्रतिक्रिया पनि सञ्चारमाध्यममा आएको अपुष्ट विवरणमा आधारित छ। यसले घटनाको स्वतन्त्र पुष्टि गर्दैन।

समाधान संयन्त्र

भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैन्य गतिविधि तथा हवाई क्षेत्र उल्लंघनका सम्भावित घटनालाई व्यवस्थापन गर्न द्विपक्षीय समझदारी र संयन्त्र छन्।

दुवै देशबीच सन् १९९६ मा भएको सीमा क्षेत्रमा शान्ति तथा विश्वास निर्माणसम्बन्धी सम्झौताले वास्तविक नियन्त्रण रेखानजिक सैन्य गतिविधि तथा हवाई आवागमनलाई व्यवस्थित गर्ने व्यवस्था गरेको छ। सैन्य विमानले अर्को पक्षको हवाई क्षेत्रमा प्रवेश गर्न वा वास्तविक नियन्त्रण रेखा पार गर्नुअघि सम्बन्धित पक्षको अनुमति लिनुपर्ने व्यवस्था पनि छ।

भारतीय विदेश मन्त्रालयको दस्तावेजमा उल्लेखित प्रक्रियाअनुसार, हवाई क्षेत्रमा घुसपैठ भएको आशंका भए दुवै पक्षले ४८ घण्टाभित्र फ्ल्याग मिटिङ अर्थात् सीमा क्षेत्रमा तैनाथ सैन्य अधिकारीबीचको बैठक माग गर्न सक्छन्। सम्बन्धित पक्षले घटनाको छानबिन गरी चार साताभित्र फ्ल्याग मिटिङमार्फत निष्कर्ष जानकारी गराउनुपर्ने व्यवस्था छ।

यद्यपि नोभेम्बर १२ को भनिएको घटनामा दुवै देशबीच यस्तो बैठक माग गरिएको वा कुनै औपचारिक कूटनीतिक प्रक्रिया अघि बढाइएको विवरण सार्वजनिक भएको छैन।

सिक्किम क्षेत्रमा चिनियाँ विमान प्रवेश गरेको दाबीले भारत–चीन सीमा सुरक्षाबारे पुनः चासो बढाएको छ। तर भारतीय रक्षा अधिकारीको आधिकारिक पुष्टि, विमानको पहिचान र उडान मार्ग सार्वजनिक नभएसम्म घटनाको वास्तविक प्रकृति तथा त्यसको उद्देश्यबारे निष्कर्ष निकाल्न सकिने अवस्था छैन।