काठमाण्डु – पछिल्लो समयमा आमा बुबाको लापरबाहीका कारण बालबालिकाहरू मोटोपनको सिकार हुँदैछन् । सामान्य मोटोपनले भावी जीवनमा असर गर्दैन । तर, सानै उमेरदेखि बालबालिकाको तौल अस्वभाविक रुपमा वृद्धि भएमा यसले भविष्यमा गम्भीर असर पार्ने देखिएको छ ।
सामान्यतयाः हाम्रो सोच कस्तो हुन्छ भने बालबालिका मोटाघाटा भएकै राम्रो हुन्छ भन्ने हुन्छ । अर्को तर्फ हरेक आमाबुवाले आफ्नो छोराछोरी मोटाघाटा भएकै राम्रो मान्दछन् । तर, यो पनि परिवेश अर्थात समाज हेरेर सोच बिचार फरक–फरक हुन्छ ।
गाउँघरमा आमाबुवाले आफ्नो छोराछोरी मोटाघाटा भएको हेर्न चाहन्छन् भने विकसित अर्थात शिक्षित आमाबुवामा भने आफ्ना सन्तानमा मोटोपन बढेपछि चिन्ताको विषय बन्छ । हुनपनि बालबालिका अस्वाभाविकरूपमा मोटाउनु भनेको अनेकौँ रोगको सिकार बन्नु हो ।
विभिन्न अध्ययनले देखाए अनुसार सानैदेखि बालबालिकामा मोटोपन बढेपछि यसले उनीहरूको भविष्यमा ठुलो असर गर्दछ । बालबालीकाहरू विभिन्न रोगको मुखमा पुग्छन् । बालबालिकाहरु मोटोपनको सिकार हुनुको पछाडि मुख्य हात आमाबुवाको भएको अध्ययनहरूले दावी गरेका छन् ।
आमाबुबाहरूको लापरवाहीका कारण बालबालीका मोटोपनको सिकार बन्न पुग्छन् र पछि उनीहरूको जति उमेर बढ्दै गयो त्यतिनै रोगको सिकार हुँदै जान्छन् । पछिल्लो समयमा आमाबुवाहरूले आफ्ना छोरा छारीको आवश्यक भन्दाबढी स्याहारसुसार गर्नाले पनि बालबालिका मोटोपनको सिकार बन्न पुगेका छन् ।
आमाबुवाले बच्चाहरूलाई आवश्यक भन्दाबढी खानपिन गराउँछन् । यसले पनि मोटोपन हुने जोखिम हुन्छ । त्यसैगरी पछिल्लो समयमा बालबालिकाहरूले जंकफुड बढि खाने गर्दछन् । प्रायजसो बालबालीकाहरू घरको खाना भन्दा जंकफुडनै रुचाउने गर्दछन् । यसले गर्दा पनि अहिलेका बच्चाहरू मोटोपनको सिकार बन्न पुगेका छन् ।
अर्को तर्फ आमाबुवाले पनि घरमै बनेको खाना खुवान छोडेर चाउचाउ विष्कुट लगायतका जंकफुड बच्चालाई खुवाउने गर्नाले पनि अस्वाभाविकरूपमा बालबालिका मोटाउने गर्दछन् । त्यसैगरी अहिलेका बालबालिकाहरूको सुत्ने, खाने, खेल्ने समय निश्चित हुँदैन । उनीहरुलाई आमाबुवाले स्वतन्त्र अर्थात खुला छोडेका हुन्छन् । अहिलेका बालबालिका व्यायाम भन्दा पनि घरमै टिभी हेरेर बसिरहन्छन् । यसले गर्दा पनि बालबालिका मोटोपनको सिकार बन्न पुगेका छन् ।
मोटोपनले कस्ता रोग निम्त्याउँछ ?
जुन बच्चामा मोटोपनको समस्या हुन्छ, त्यो बच्चालाई मुटु सम्बन्धी रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढि हुन्छ । मोटो बच्चामा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोलको स्तर, मधुमेह र हृदयघात हुने खतरा बढि हुन्छ ।
बच्चा बाल्यवस्थामा नै मोटोपनको शिकार भएमा यसको परिणाम उसले जीवनभर भोग्न पर्छ । मोटोपनसँग सम्बन्धी रोगहरू जस्तै मधुमेह जस्ता रोगहरूको शिकार बन्न सक्छन् । बिट्रिस मेडिकल जर्नल लान्सेन्टमा प्रकाशित एक सर्वेक्षण अनुसार मोटोपनको कारण गर्भाशयको क्यान्सर हुने सम्भावना बढि हुन्छ ।
त्यस्तै पित्ताशय, गुद्वार, गर्भाशय, थाइराइड र ब्लड क्यान्सर हुने सम्भावना पनि त्यतिकै हुन्छ । धेरै तौल हुनाले लिभर, मलाशय, अन्डकोष र स्तन क्यान्सरको पनि खतरा बढि हुन्छ ।
विभिन्न अध्ययनहरूले देखाए अनुसार सामान्यत ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ । एक तिहाई बच्चामा किशोरवस्थासम्म पनि मोटोपना कायम नै रहन्छ ।




प्रतिक्रिया