काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन गरेको छ । सोमबार हेटौँडामा बसेको संसदीय दलको बैठकले उपनेतामा खनाललाई चयन गरेको हो ।
यसअघि आइतबारको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको थियो । यस्तै, सोमबारको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मत रुपमा चयन गरेको छ । बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि आवश्यक तयारी गर्ने पनि निर्णय भएको छ ।
यसका लागि दलका नेता पाण्डेलाई गठबन्धनमा आवद्ध दलहरू माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दिएको छ । यस्तै, तीन दलको सरकार निर्माण भएपछि सरकारकोतर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधवप्रसाद पौडेल, बसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिइएको नेकपा एकीकृत समाजवादीले बताएको छ ।





प्रतिक्रिया