काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा हालै आएको बाढी र पहिरोपछि अष्ट्रेलिया सरकारले देखाएको मित्रता, एक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भेटवार्ता गर्दै प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्रीले बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकारले खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए।
विपद्लगत्तै अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर, राहत सामग्री र १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएकोमा प्रधानमन्त्रीले प्रशंसा गरे।
यसका साथै, अष्ट्रेलियाले उपलब्ध गराएको ११ मिलियन अष्ट्रेलियन डलरको सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको उनको भनाइ थियो।
वार्तामा बाढीका कारण बेपत्ता रहेका अष्ट्रेलियन नागरिकको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रधानमन्त्री शाहले बताए। उनले अष्ट्रेलियाले नेपालको मानव संसाधन विकासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि पनि धन्यवाद दिए।
भेटमा राजदूत साइमन अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति समवेदना व्यक्त गरे। साथै, उनले हालै संयुक्त राष्ट्रसंघमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गरेका छन् ।




प्रतिक्रिया