काठमाण्डु – कोरोना भाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । आजदेखि सुरु भएको परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।
विषम परिस्थिति भएकोले यो वर्ष विद्यार्थीले होम सेन्टरबाटै परीक्षा दिएका छन् । साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिइएको छ ।
सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरि परीक्षा लिइएको छ । यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।





प्रतिक्रिया