काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । बुटवलमा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले विगतमा एमाले फुटाउनेहरूले एक सिट पनि नजिते जस्तै माधव नेपालको हालत पनि त्यस्तै हुने दाबी गरेका हुन् ।
‘२०५४ मा पनि एमाले विभाजन भएको थियो । ५०/५० प्रतिशत अर्थात् आधा लगेर गएका थिए । महाकाली सन्धि र भारत अमेरिका एजेन्डा थिए । तर पनि मालेले देशभर एक सिट जित्न सकेन,’ उनले भने, ‘अहिले त कुनै सिद्धान्त र नीति होइन, स्वार्थ र इष्र्याले गएको झुन्डले कुनै सिट जित्ने अवस्था छैन ।’
पौडेलले एमाले नफुटेको पनि दाबी गरेका छन् । ‘दल विभाजन कानुनअनुसार एमाले विभाजित हुने नभएपछि २० प्रतिशतको प्रावधान अध्यादेश ल्याउन देउवाको चरणमा निवेदन चढाएर अध्यादेश ल्याएर विभाजनको प्रयास गरियो । विभाजन भएको होइन, स्वार्थी तत्व बाहिरिएको हो,’ उनले भने ।
उनले माधव नेपाल भविष्यमा कांग्रेसमा जाने भएकाले भ्रममा नपर्न कार्यकर्तालाई आह्वान गरे । ‘माधव नेपालको झुन्ड बनेर, माधव नेपालमार्फत कांग्रेसमा जाने, कांग्रेसको सेवा गर्नुपर्ने कुनै जरुरी छैन । माधव नेपाल झुन्डले गरेको गतिविधि सत्य होइन,’ उनले भने । जसरी पनि सत्तामा पुग्ने माओवादी आकांक्षाले पार्टी जीवनमा समस्या आएको र माधव नेपालको कारण पनि अहिले पार्टीमा समस्या आएको उनले आरोप लगाए । ’




प्रतिक्रिया