काठमाण्डु – बाढीपहिरोका कारण अवरुद्ध बेनी-पोखरा सडक पाँच दिनदेखि सञ्चालनमा आएको छ।
पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गरेको थियो। यस्तै, दर्जनौँ स्थानमा पहिरो खस्दा समस्या भएको थियो। सडक मर्मत भएसँगै अवरुद्ध बेनी–पोखरा सडक बुधबार साँझदेखि सञ्चालनमा आएको हो।
म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनीको पोखरासँग पाँच दिनपछि सिधा यातायात सम्पर्क जोडिएको बताए। मध्यपहाडी लोकमार्ग आयोजनाले पर्वतको सहश्रधारासम्म मर्मत गरेको हो।
यस्तै, कालीगण्डकी कोरिडोर बेनी-जोमसोम-कोरला सडक योजनाले मालढुङ्गा–बेनी खण्डको सडक मर्मत गरेपछि एकतर्फी रूपमा यातायातका साधन सञ्चालन हुन थालेको उनले बताए।
मालढुङ्गा-बेनी सडकअन्तर्गत पर्वतको जलजला गाउँपालिका-७ मा पर्ने केराबारी र लामाबगर क्षेत्रको पहिरो पन्छाएपछि बेनीदेखि पोखरा सवारीसाधन चल्न थालेका हुन्।
मालढुङ्गामा रहेको सडक पुलको पहुँचमार्ग कालीगण्डकीको बाढीले बगाएकाले असोज ११ गतेयता बागलुङ जिल्लाको पनि प्रदेश र सङ्घीय राजधानी काठमाण्डुसँग यातायात सम्पर्क टुटेको छ।
सडक डिभिजन कार्यालयले मालढुङ्गाको पुल मर्मत थालेको छ। बाढी पहिरोका कारण बेनीदेखि मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडक खुलाउन आवश्यक प्रयास भइरहेको छ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जोमसोमदेखि घाँसा हुँदै म्याग्दीको भुरुङ्ग-तातोपानीसम्मको सडक मर्मत भएको र बेनीदेखि गलेश्वरसम्म पनि यातायात सञ्चालन भएको बताए। पोखरा–बेनी यातायात सम्पर्क स्थापित भएपछि इन्धन ढुवानी गर्न सहज भएको छ।
जिल्लाका मुख्य बेनी-जोमसोम, बेनी–दरवाङ, बेनी-बागलुङ र बेनी–पाखापानीसहित सबै वडा जोड्ने सडक मर्मतको काम धमाधम भइरहेको छ।




प्रतिक्रिया