मिसेस् नेपाल परिमार्जित, अब ‘वर्ल्ड सौन्दर्य प्रतियोगिता’ हुने


काठमाण्डु – रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको विवाहित महिलाका लागि नेपालको सबैभन्दा ठूलो मिसेस् नेपाल इन्टरनेसनल नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि मिसेस् वर्ल्ड नेपालको रूपमा आयोजना हुने भएको छ ।

सन् २०१९ मा मिसेस् नेपाल इन्टरनेसनलको पाँचौँ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोना महामारीका कारण स्थगित हुन पुगेको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस् वर्ल्ड नेपालको रूपमा आयोजना हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।

यस वर्ष मिसेस् वर्ल्ड नेपालको पहिलो संस्करणको घोषणासँगै कार्यक्रमको विजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस् वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मञ्चबाट मिसेस् नेपाल वर्ल्ड र मिसेस् नेपाल इन्टरनेसनलका साथै एमएस नेपाल इन्टरनेसनल गरी तीन जना विजेताको छनोट गर्नेछ ।

यसैगरी मिसेस् इन्टरनेसनल नेपाल तथा एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुर आयोजना हुने मिसेस् इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउनेछन् ।

नेपालले यस वर्ष मिसेस् वर्ल्डमा पहिलो पटक सहभागिता जनाउनेछ । विगतको वर्षमा झैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्ष मिसेस् नेपालले क्यान्सरविरुद्धको जनचेतना अभियानलाई वर्षको मुद्दा बनाएको छ ।

यसअघि सम्पन्न मिसेस् इन्टरनेसनलमा सविता लामिछाने, अनुपमा राई, सुरुचि पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले उपाधि जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement