काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जीवन राई नेतृत्वको नेकपा एकीकृतसँग एकीकरण गर्ने तयारी थालेका छन् ।
एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष जीवन राईसमक्ष पार्टी एकताको प्रस्ताव राखेको हुन् । एमाले विवादको बेला माधव नेपाल समूहमा रहेका नेता राईले त्यसबेला नेपालसहितका नेताहरुकै सल्लाहमा निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता गराएका थिए ।
राईले नेकपा एकीकृतको चुनाव चिन्ह कलम राखेर दल दर्ता गराएका हुन् । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएपछि पार्टीको राजनीतिमा लागेका उनी माधव नेपाल निकट मानिन्छन् । माधव नेपाल निकट खिमलाल देवकोटा पनि राष्ट्रियसभाको उपनिर्वाचनमा कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।
पार्टी अध्यक्ष नेपालले चुनाव चिन्हको रुपमा कलम नै उपयुक्त हुने धारणा राख्दै आएका छन् । ‘राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाजीले कलम चिन्हवाट नै लडेर बिजय हुनु भएको छ । स्वतन्त्र भने पनि उहाँलाई हाम्रो समर्थन थियो,’ नेता नेपालले भन्दै आएका छन, ‘राष्ट्रियसभाबाट स्थापित भइसकेको कलम चिन्हलाई नै पार्टीको चुनाव चिन्ह बनाउँदा ठिक हुन सक्छ, त्यसबारेमा छलफल गर्नुपर्छ ।’
नेकपा एस दर्ता भएको २९ औं दिनसम्म पनि चुनाव चिन्ह विहीन अवस्थामा छ । यस्तो अवस्थामा नेकपा एसले कलम छापलाई चुनाव चिन्हको रुपमा चयन गरेर जीवन राईलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने समेत तयारी गरेको बुझिएको छ ।
नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जारी केन्द्रीय कमिटी बैठकमा पार्टी समाहित गर्ने विषयमा छलफल चलेको बताए । यता एकीकृतका अध्यक्ष राईले भने आफुलाई एकीकरणका लागि कुनै प्रस्ताव नआएको बताए ।




प्रतिक्रिया