संसदमा एमाले र सभामुखबीचको टसल, ओलीसँग बस्नै चाहँदैनन सापकोटा

संसदमा एमाले र सभामुखबीचको टसल, ओलीसँग बस्नै चाहँदैनन सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसदको दुवै सदन अहिले विरोधको थलो बनेको छ । जनताका आवाज मुखरित गर्ने थलोको गरिमा कसले जोगाइदेला भन्ने प्रमुख प्रश्न छ । प्रतिपक्ष दल एमाले र सभामुखको टसलका कारण संसदको कारवाही अघि बढ्न सकेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना टाँस नगरेसम्म सदनको अवरोध कायमै राख्ने अडान लिएको छ भने सर्वोच्च अदालतमा विचाराधिन मुद्धा प्रभावित हुनेगरी कुनै निर्णय नगर्ने सभामुख सापकोटाको अडान छ ।

दुवै पक्षले अडान कायमै राखेपछि भदौ २३ गतेबाट सुरु भएको ९ औं अधिवेशन अहिलेसम्म प्रभावित बनेको छ । संसद सुरु हुने त्सलगतै विपक्षले नारावाजी गर्ने क्रम संसदमा देखिएको छ । त्यो क्रम आजको बैठकमा पनि देखिने सम्भावना छ ।

संसदको गतिरोध अन्त्यकालागि सभामुखले सर्वदलिय बैठक बोलाएपनि एमालेले सभामुखले बोलाएको बैठकनै अस्वीकार गरेको छ । संसदलाई बन्धक बनाउन नहुनै भन्दै सरकारले आवश्यक विधेयक बहुमत बाट पारित गर्ने तयारी गरेको छ भने सभामुख सापकोटा सोही लयमा अगाडी बढेका छन् ।

आफु सरकारमा हुँदा दुई दुई पटकसम्म विघटन गरेको संसदलाई औचित्यहिन पुष्टि गर्न एमालेले नाजायज माग राखेर अवरोध गरेको राजनीतिक वृत्तमा चर्चा छ । एमालेले कुनै पनि हालतमा संसदलाई सहज रुपमा संचालन गर्न नदिने संकेत देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्धालाई प्रभावित हुनेगरी एमालेले विरोध गरिरहेको सत्तापक्षको भनाइ छ भने १४ जना सांसदलाई कारवाही गरेको सूचना नटासेसम्म संसद चल्न नदिने एमालेको रटान छ । एमालेकी सचेतक शान्ता चौधरीले सभामुखले संसदमा देखिएको गतिरोधलाई हटाउन सभामुख नै उत्तरदायी हुनुपर्ने बताइन् ।

‘सभामुखले यो गतिरोधलाई हटाएर जानुपर्छ । संसदलाई साँच्चै संसद जस्तो बनाएर जानुपर्छ । सभामुख निष्पक्ष पदीय गरिमाको जिम्मेवारी बोध गर्नुपर्छ । म कुनै पार्टी प्रति भन्दा पनि संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने उहाँमा छँदै छैन् । नत्र उहाँले यो अवरोध हटाउन कुनै न कुनै कदम त चाल्नुहुन्थ्यो नि,’ उनले भनिन्, ‘एउटा कदम चाल्नुभयो– सर्वदलीय बैठक बोलाउनुयो । सर्वदलीय बैठकसँग हाम्रो कुनै सम्बन्ध छैन् । सबै दलहरुसँग बसेर यो अवरोध हट्ने होइन । यो त नेकपा एमाले र सभामुखबीचको टसल न हो । सभामुखले यी अवरोध नहटाउनका लागि यस्ता क्रियाकलाप गर्नुहुन्छ । जुन हामीले आधिकारीक रुपमा कारबाही गरेका व्यक्तिलाई सार्वजनिक कार्यक्रममा बोलाउनुहन्छ । त्यसमा एमाले कसरी जान सक्छ ? जहिल्यैसम्म उहाँले सूचना टाँस गर्नुहुन्न त्यहिले सम्म जारी रहन्छ ।’

अहिलेसम्मको संसदीय व्यवस्थालाई हेरेर आफ्नो कार्यकालमा संसदलाई क्रियाशील बनाउने र यस्ता खालका अवरोध हटाउने काम सभामुखले गर्नुपर्ने सचेतक चौधरीको भनाई छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बसेर छलफल गरे संसदको गतिरोध हट्ने बताइन् ।

‘संसदलाई कसरी चलाउने संसदलाई कसरी लैजाने । अहिलेसम्मको संसदीय व्यवस्थालाई हेरेर आफ्नो कार्यकालमा संसदलाई क्रियाशील बनाउने, यस्ता खालका अवरोध हटाउने काम सभामुखले गर्ने हो नि,’ सचेतक चौधरीले भनिन्, ‘हामीले उहाँलाई बैठकमा बसौं भनेका हौं तर, उहाँले मान्नुभएन । सभामुख र एमाले अध्यक्ष केपी शर्मा अ‍ोली बसेर छलफल गर्ने हो भने यो गतिरोध हटिहाल्छ नि । अध्यक्षज्यूसँग बस्न उहाँ चाहिरहनु भएको छैन् ।’

सभामुख सापकोटाले भने आफु कानुनसम्मत चलेको दाबी गर्दै आएका छन् । उनले सर्वोच्च अदालतमा विचाराधिन मुद्धा प्रभावित गर्न नमिल्ने समेत बताइरहेका छन् । संसदले गति नलिदा महत्वपुर्ण विधेयकहरु पास हुन सकेको छैन । सरकारले एमालेलाई फकाउने प्रयास थालेपनि त्यसको कुनै सकारात्मक प्रभाव देखिएको छैन ।