काठमाण्डु – कांग्रेसको महाधिवेसन अन्तर्गत आजदेखि पालिका स्तरीय अधिवेशन सुरु भएको छ । आज ६४ जिल्लामा पालिका अधिवेशन तय भएपनि कतिपय जिल्लामा हुन नसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
क्रियाशील सदस्यतामा विवाद देखिएका जिल्लालाई थाति राखेर बाँकी जिल्लामा अधिवेसनको मिति तय भएपनि आन्तरीक विवाद देखिँदा काठमाण्डु सहितका केही जिल्लामा आज पालिका अधिवेसन हुन नसकेको हो ।
कांग्रेस स्थापनइतर पक्षले सबै जिल्लाको विवाद समाधान गरेपछि एकैपटक अधिवेशन गर्न माग गरेपनि केन्द्रिय पदाधिकारीको बैठकले बाँकी जिल्लाहरुमा पुर्व निर्धारित मितिमै अधिवेशन अगाडी बढाउने निर्णय गरेको थियो । प्रदेश दुइका जिल्लासहित १३ जिल्लाको क्रियाशील सदस्यतामा विवाद कायमै थियाे ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र नेता रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई सदस्यताको विवाद मिलाउने जिम्मेवारी दिएको थियो । उक्त कार्यदलले मापदण्ड तयार गरेको थियो । मापदण्डमा सहमति जुटाएर क्रयाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई कार्यान्वयनकालागि जिम्मा दिएको थियो । कार्यदलले अहिले काम गरिरहेको छ ।
मापदण्ड अनुसार काम सुरु
सिटौला नेतृत्वको कार्यदलले तयार पारेको मापदण्ड अनुसार क्रियाशील सदस्यहरुको ईन्ट्री भइरहेको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य जीवन परियारले बताए । ‘हामीले अहिले पनि काम गरिरहेका छौँ , हामीलाई जुन मापदण्ड दिइएको थियो सोही अनुसारका सदस्यहरुको नाम हामीले इन्ट्री गरेका छौं,’ उनले भने ।
नामावाली तयार भएपछि केन्द्रीय समितिमा बुझाउने नेता परियारले बताए । क्रियाशील सदस्यता विवाद टुंग्याएपछि ती जिल्लामा पनि क्रमशः वडा अधिवेशनको प्रक्रिया अघि बढ्ने बताइएको छ । ‘हामीले क्रियाशील सदस्यको नामावली दिएपछि ती जिल्लामा निर्वाचन समितिले वडा अधिवेशनको मिति तोक्छ । दसैंअघि नै ती जिल्लामा पनि पालिका तहको अधिवेशन भइसक्छ,’ उनले भने ।
१३ मध्ये ७ जिल्लाको विवाद मिल्न बाँकी
अहिलेसम्म विवाद रहेको १३ जिल्ला मध्ये अब ७ जिल्लाको मात्र क्रियाशील सदस्यता छिनोफानो गर्न बाँकी छ । विवाद समाधानका लागि क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरू खटिरहेका छन् । संस्थापन र संस्थापन इत्तर पक्षका बीच सदस्यताका विषयमा समान धारणा नबन्दा विवाद सुल्झिएको छैन ।
अब बारा , सप्तरी , रसुवा , रौतहट , सर्लाही , बाँके र डोल्पा जिल्लाको मात्र बिबाद समाधान हुन बाँकी छ । क्रियाशील छानबिन समितिले पर्सा, महोत्तरी, धनुषा, सिरहा, सुर्खेत र कैलालीको विवाद आजै टुङ्याएको छ । विवाद रहेको जिल्लाको छिनोफानो पनि आजै गर्नेगरी काम भइरहेको क्रियाशील सदस्यता छानविन समिति सदस्य परियाले बताए ।
बारा जिल्लाको पनि समाधान हुने क्रममा रहेको नेविसंघका पूर्व सहमहामन्त्री राजेश रौनियारले जानकारी दिए । कृष्णप्रसाद सिटौला काठमाण्डु बाहिर रहेकाले विवाद टुंगिएका जिल्लाका क्रियाशिल सदस्यका नामावली भोली मात्र केन्द्रिय समितिमा बुझाउने बताइएको छ । केन्द्रिय समितिले अनुमोदन गरेपछि ति जिल्लामा वडा तहदेखिनै अधिवेशन सुरु गर्ने बताइएको छ ।
नामावली प्राप्त भएको एक हप्ताभित्र निर्वाचन
भदौ १८ बाट सुरु भएको वडा अधिवेशन प्रभावित भएपछि महाधिवेशननै तोकिएको समयमा हुन्न की भन्ने शंका थियो । विवाद समाधान भएसंगै निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने भएको छ ।
क्रियाशील सदस्यहरुको नाम केन्द्रीय समितिले निर्वाचन समितिलाई बुझाएपछि निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउने छ । क्रियाशील सदस्यको नाम प्राप्त गरेको एक हप्ताभित्र वडाको निर्वाचन गराउने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताए ।
कांग्रेसमा लामो समय क्रियाशील सदस्यता विवाद नटुंगिदा पटकपटक महाधिवेशनको मिति सर्दै आएको छ । नयाँ कार्यतालिका अनुसार कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।




प्रतिक्रिया