काठमाण्डु – नेकपा माओवादी केन्द्रले तीस लाख संगठित सदस्य बनाउने रणनीति सार्वजनिक गरेको छ ।
शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले ‘एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य’ हुनुपर्ने नीतिसहित ३० लाख सदस्य पुर्याउने रणनीति सार्वजनिक गरेको हो ।
२३ फागुन ०७७ मा नेकपाबाट ब्यूँतिएको नेकपा माओवादी केन्द्रले चार महिने संगठन निर्माण तथा विस्तार अभियानलाई तीव्रता दिएको छ । साथै पार्टीले ‘टोलबाट देश निर्माण गरौं, सेलबाट पार्टी निर्माण गरौं’ भन्ने नारासमेत तय गरेको छ ।
३०–३१ साउनमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले ११–१३ पुसमा राष्ट्रिय सम्मेलनको मिति तय गर्दै चार महिने संगठन निर्माण अभियान घोषणा गरेको थियो ।
यस्तै १० असोजमा देशका सबै सेल कमिटी र टोल भेला सम्पन्न गरेर २० असोजमा वडा, गाउँपालिका र नगरपालिकाको सम्मेलनसमेत गर्ने योजना बनाएको केन्द्रीय कमिटी सदस्य धर्मशिला चापागाईंले जानकारी दिइन् । ३० कात्तिकमा जिल्ला सम्मेलन र १५ मंसिरमा प्रदेश सम्मेलन गर्ने माओवादीको कार्ययोजना छ ।




प्रतिक्रिया