काठमाण्डु – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यममाथि प्रश्न उठाएका छन् । मंगलबार सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमहरूले खबरदारी नगरेको भन्दै प्रश्न उठाएका हुन् ।
प्रश्न गर्दै ओलीले भने, “सञ्चारमाध्यमले खबरदारी गरेन भने सरकार लापरवाह हुन्छ । अहिले सञ्चारमाध्यम चुप नै छ । किन चुप, सरकारसँग गुन लगाएर चुप लागेर बसेको हो ?”
देउवा सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याँउदा समेत सञ्चारमाध्यम चुप बसेको उनको आरोप थियो । ओलीले भने, “मध्यरातमा संसद् अधिवेशन गरेर भोलिपल्ट बिहान अध्यादेश ल्याइयो । यसमा किन विरोध भएन ?”
त्यसैगरी अध्यक्ष ओलीले अध्यादेश पनि पार्टी फुटाउने मनसायका साथ ल्याइएको बताए । “संसद्को अवज्ञा गरेर त्यो अध्यादेश फिर्ता भयो । रद्द गर्न अर्को कानुन चाहिन्छ,” ओलीले भने, “पहिलेको ऐन कायम हुने गरी अर्को अध्यादेश ल्याउनुपर्छ । संसद् चालु छ । संसद् चालु हुँदा सूचना टाँस गर्न पाइँदैन ।”




प्रतिक्रिया